• ७ चैत २०८२, शनिबार

मातृभाषामा शपथ, राष्ट्रिय गौरव

blog

नेपालले अबको सम्भवतः एकसाताभित्र प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहलाई पाउने छ । पहिलो पटक मतदानमा सहभागी युवादेखि ज्येष्ठ नागरिकसम्म सबैका लोकप्रिय ३५ वर्षीय बालेनलाई चुनावी प्रचारमै प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडि सारेको थियो । बालेनलाई रास्वपाले प्रतिनिधि सभाको संसदीय दलका नेता चुनेपछि उहाँ नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुहुने छ । उहाँ रास्वपाका १८२ सांसदका मात्र होइनन्, २७५ जनाकै सारथि हुनुहुन्छ । नवनिर्वाचित सांसदहरूले शपथ लिन भने बाँकी नै छ । नवनिर्वाचित सांसदहरूले कुन–कुन भाषामा शपथ लिनुहोला ? कस्ता–कस्ता पोसाकमा सजिनु होला ? यतिखेरको जिज्ञासा हो यो । 

विगतमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि २०७९ जेठ १६ गते बालेनले नेपाली र नेपालभाषा (नेवारी) मा शपथ लिनुभएको थियो । उहाँ शपथग्रहण समारोहमा दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो । उहाँको शपथको व्यहोरा यस्तो थियो :

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वर, जनताका नाममा सपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको प्रमुख पदको कामकाज, प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताइ, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, पदीय गोपनीयता कायम राखी, इमानदारीका साथ गर्ने छु । धन्यवाद !’ शपथका यी बुँदा वाचन गरिसकेपछि प्रमुख शाहले आफ्नो मातृभाषा नभए पनि नेपालभाषामा शपथ यसरी लिनु भएको थियो :

‘ज्वजलपा ! जी बालेन शाह, मुलुक व जनता निति पूर्ण बफादार जुया, सत्य, निष्ठापूर्वक, जनता या नाम शपथ काय च्वना । नेपाः व नेपाली य हिते, जुगु लिसे नेपाः संविधान य पूर्णरूपं बफादार जुय, यँ महानगरपालिका प्रमुख पद य प्रचलित कानुन या त आत्मसात् यान नेपाः यात जुगले च्वना सकल सित सम्मानपूर्वक भावना पूर्वाग्रह मत छय स्वनिगय विकासया निति सदा दत्तचित्त जुया यान ब्वनेगुजि बालेन शाह थ्व ग्वाच बिया च्वया । 

धन्यवाद !’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह हलमा भएको शपथग्रहण हेरिरहेका दर्शकदीर्घाले तालीको वर्षा र जनआवाजले हर्ष प्रकट गरेका थिए । 

त्यसै गरी प्रतिनिधि सभा, २०७९ को शपथ ग्रहण समारोहमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसदमध्ये ३२ जनाले नेपाली भाषाबाहेक अन्य १४ भाषामा शपथ लिएका थिए । ती भाषाहरू भोजपुरी, मधेशी, थारू, बान्तावा, खस, संस्कृत, मैथिली, कोयु, नेपालभाषा, हिन्दी, तामाङ, अवधी, उर्दू, सन्थाली थिए । यद्यपि ‘मधेशी’ भाषा भनेर उल्लेख गरिएको भाषा ‘मैथिली’ रहेको भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले बताउनुभएको छ । 

नेपालको संविधान (२०७२) मा लेखिएको छ –‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् ।’ जनगणनाको तथ्याङ्कले नेपालमा १४२ जातजाति छन् र १२४ भाषा बोलिन्छ । 

मातृभाषामै शपथ लिन जरुरी छ र ? भन्ने सवालमा भाषा आयोगका अध्यक्ष तथा पहिलो संविधान सभाका सदस्य डा. ठाकुर कुनै पनि मातृभाषामा शपथ लिनु र नलिनु त्यो सम्बन्धित व्यक्तिको धारणा र मानसिकतामा भरपर्ने बताउनु हुन्छ । मातृभाषामा शपथ लिँदैमा सबैथोक भइहाल्ने, नलिँदैमा सबैथोक बिग्रिहाल्ने हुन्न । ‘तर मातृभाषीले नै आफ्नो भाषाको नै औपचारिक अवसरहरूमा प्रयोग गर्दैन भने, आफ्नो पहिरनको प्रयोग गर्दैन भने ती भाषा र पहिरन कसरी जोगिन्छ ? ती संस्कृति कसरी जोगिन्छ ? भन्ने प्रश्न त्यसैसँग आउँछ,’ भाषाविद् ठाकुरको मत छ, ‘त्यस कारणले यदि नेपाली मातृभाषीबाहेक अन्य मातृभाषीहरू छन् भने उहाँहरूले त्यस्तो अवसर पाउँदाखेरी आफ्नो मातृभाषामा शपथ लिनु सबैभन्दा राम्रो ठहरिन्छ । त्यसले कालान्तरमा गएर त्यो भाषाको औपचारिक मान्यताका लागि एउटा नजिर हुन सक्छ ।’ मातृभाषामा शपथ लिँदा मुलुकको बहुभाषिकतालाई झल्काउने उहाँको कथन छ । 

भाषा र संस्कृतिको एकआपसमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । संस्कृतिभित्र पहिरहन पनि पर्छ । देश बहुभाषिक र बहुसांस्कृतिक भए पनि औपचारिक राष्ट्रिय पोसाकका रूपमा पुरुषको हकमा दौरा, सुरुवाल, ढाकाटोपी तथा महिलाको हकमा गुन्यू, चोली मान्ने गरिएको छ । सङ्घीय कार्यपालिकाका सदस्यले संविधानमा उल्लेख ‘बहुभाषिक नीति अवलम्बन गर्ने’ र बहुजातीय तथा बहुसांस्कृतिक मुलुकको दृश्य सङ्घीय संसद्को शपथमा झल्काउन जरुरी छ । औपचारिक अवसरमा एउटा कुनै पोसाकलाई राज्यले पछ्याउनु चाहिँ पक्षपात हुने छ । ‘तत्कालीन सरकारले दौरा, सुरुवाललाई नेपालको राष्ट्रिय पोसाक घोषणा गरे पनि संविधान सभाको बैठकले यो निर्णय फिर्ता लिन सभामुखले रुलिङ गर्नुभएको छ,’ डा. ठाकुरको कथन छ, ‘मैले पहिलो संविधान सभामा भोजपुरीमा शपथ लिएँ । भाषा आयोगको अध्यक्षको शपथग्रहणमा पनि मैले धोती, कुर्था, बन्डी लगाएर भोजपुरीमा शपथ लिएँ ।’

शपथसम्बन्धी ऐन, २०७९ मा पद तथा गोपनीयताको शपथसम्बन्धी व्यवस्था गरिएको छ, जसको दफा ४ मा ‘औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने’ व्यवस्था गरिएको छ । त्यसको उपदफा (१) सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने छ । उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित वेशभूषा वा पोसाक लगाई शपथ लिन सक्ने छ ।’

यसै गरी दफा ५ मा ‘शपथको भाषा’ सम्बन्धी व्यवस्था गरिएको छ । यस दफाको उपदफा (१) अनुसार शपथ लिँदा वा गराउँदा सरकारी कामकाजको नेपाली भाषामा शपथ लिनु वा गराउनुपर्ने छ भनेर उल्लेख गरिएको छ । उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपालमा बोलिने आनो मातृभाषामा शपथ लिन सक्ने छ । त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअगावै पेस गर्नुपर्ने छ । उपदफा (३) सार्वजनिक पद धारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रति र मातृभाषामा शपथ लिएकोमा त्यस्तो भाषाको र नेपाली भाषाको शपथको दुई/दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीसमक्ष पेस गर्नुपर्ने उल्लेख गरिएको छ । 

संविधानले किटान गरे अनुसार सङ्घीय संसद्मा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुने छ । संसद् प्रवेशअघि संविधानले तोकेबमोजिमको ढाँचामा शपथग्रहण गर्दा एकल भाषा, एकल संस्कृति होइन, बहुभाषिक र बहुसांस्कृतिक मुलुकको झल्को दिने प्रतिज्ञा गर्नै पर्छ । जेनजी विद्रोहपछि शान्तिपूर्ण सम्पन्न निर्वाचनबाट प्रत्यक्ष चुनिएका र समानुपातिकमा मनोनित माननीय सांसदहरूले ‘देश र जनताको नाममा शपथ’ लिँदा मातृभाषा र संस्कृतिलाई भुल्नु हुँदैन । 

मातृभाषामा शपथ लिने परम्परा नयाँ होइन । पञ्चायतकालमा पनि मातृभाषामा शपथ लिएको उदाहरण पाइन्छ । मातृभाषामा शपथ लिँदा समाजले गर्व गर्छ । सांस्कृतिक पहिरनमा उपस्थित हुँदा राष्ट्रिय गौरव नै बढ्छ । नकारात्मक रूपमा टिप्पणी गर्नु भनेको संविधानको मर्म अनुसार सामाजिक, सांस्कृतिक सद्भावलाई बेवास्ता गर्नु हो । यसतर्फ ध्यान पुग्न जरुरी छ ।