• ६ चैत २०८२, शुक्रबार

ईदको अवसरमा मुस्लिम समाजद्वारा कैदीबन्दीलाई नयाँ लुगा

blog

कारागारका कैदीका लागि नयाँ लुगा कारागार व्यवस्थापनलाई हस्तान्तरण गरिँदै। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, चैत ६ गते ।
मुस्लिम समुदायको महान पर्व ईदको उपलक्ष्यमा बाँकेको नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीलाई मुस्लिम समाज बाँकेले नयाँ लुगा वितरण गरेको छ।

शनिवार ईद पर्व परेको हुँदा सो पर्वको पूर्वसन्ध्यामा नेपालगन्ज मुस्लिम समाजले कोहलपुरस्थित नौबस्ता कारागार तथा नेपालगन्ज कारागारमा रहेका रोजा बसिरहेका कैदीबन्दीहरूलाई ईदको उपहार स्वरूप नयाँ कपडा वितरण गरेको समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनुभयो।

उहाँका अनुसार, नौबस्ता कारागारका ३९ जना र नेपालगन्ज कारागारका १५ जना, जम्मा ५४ जना कैदीबन्दीलाई ईदको दिन लगाउने गरि नयाँ लुगा वितरण गरिएको हो। दुबै कारागारको व्यवस्थापनलाई नयाँ लुगा हस्तान्तरण गरेको समाजका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष मुन्ना मंसुरीले जानकारी दिनुभयो।

यसअघि समाजले नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीका लागि रोजा अफ्तारको तयारीमा खाद्यान्न सामग्री पनि वितरण गरेको थियो। मुस्लिम समाज बाँकेका सचिव तथा प्रवक्ता मेराज अहमद हिमालयका अनुसार, ईदको खुशीयाली सबैले समान रूपमा अनुभूति गर्न सकून् भन्ने उद्देश्यले कैदीलाई नयाँ कपडा सहयोग गरिएको हो।

सो अवसरमा समाजका उपाध्यक्ष फिरोज वारसी लगायतका पनि उपस्थित थिए। यसैगरी, नेपालगन्ज मुस्लिम समाजले सम्पूर्ण देशवासीलाई ईदुल फित्रको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ। नेपालभरि ईद शनिवार मनाइनेछ र नेपालगन्जस्थित ईदगाहमा बिहान ८ बजे सामूहिक नमाज पढिने जानकारी नेपालगन्ज जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिले दिएको छ।