अनिल पराजुली
हेटौँडा, चैत ६ गते ।हेटौँडा उपमहानगरपालिका का १९ वडामध्ये वडा नम्बर १५ ले नागरिकमैत्री सेवा सुरु गरेको छ।वडाले आफ्ना नागरिकका लागि खानेपानी, एम्बुलेन्स र रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो ।
आम नागरिकको आधारभूत सेवासुविधालाई प्राथमिकतामा राख्दै वडाबासीलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यसहित यस्तो कार्यक्रम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।वडा कार्यालयका अनुसार वडामा बसोबास गर्ने नागरिक बिरामी भई जहाँसुकै उपचारका लागि जाँदा लाग्ने एम्बुलेन्स भाडा, उपचारका लागि आवश्यक रगत खरिद खर्च तथा मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराइनेछ ।
यस निर्णयले विशेषगरी विपन्न तथा आकस्मिक अवस्थामा परेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।आधारभूत सेवामा सहज पहुँच भएपछि वडाबासी उत्साहित हुनुभएको छ ।
भोर्ले टोल विकास समितिकी सचिव हरिमणि लामाले दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवामा राहत मिल्दा खुसी लागेको बताउनुभयो ।वडामा रहेका २१ टोल विकास समितिमध्ये १९ वटामा यो कार्यक्रम लागू गरिएको छ ।
टोल विकास समितिमार्फत रकम निकासा गरी कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।वडा नम्बर १५ मा रहेका २ हजार ३०६ घरधुरीले निःशुल्क खानेपानी सुविधा उपभोग गर्न पाउने हुनुभएको छ ।
वडाअध्यक्ष सुनिल मोक्तानका अनुसार गत माघ महिनादेखि कार्यान्वयनमा आएको यो कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने उल्लेख छ ।