• ६ चैत २०८२, शुक्रबार

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रण अभियान तीव्र

blog

काठमाडौँ, चैत ६ गते । ढोरपाटन नगरपालिकामा दादुरा प्रकोप देखिएपछि नियन्त्रणका लागि स्वास्थ्य निकायले विशेष खोप अभियान सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार फागुन २५ गतेदेखि सुरु गरिएको अभियानमार्फत हालसम्म १० महिना देखि १९ वर्ष उमेर समूहका पाँच हजार नौ सय  जना बालबालिका तथा किशोरकिशोरीलाई दादुरा विरुद्धको खोप दिइएको छ।

उक्त क्षेत्रमा हालसम्म १३३ जनामा दादुरा शङ्का गरिएकोमा  त्यसमध्ये ३१ जनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउँदा ११ जनामा दादुरा पुष्टि भएको छ।

शङ्कास्पद बिरामीमध्ये बुर्तिबाङ अस्पतालमा ८१ भर्ना भएकामध्ये ७० जनाको उपचारपछि डिस्चार्ज भएर घर फर्कनु भएको छ ।

छ जना अस्पतालमा उपचाररत छन् भने पाँच जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ ।

त्यस्तै बोबाङ्ग स्वास्थ्य चौकीमा १४ जना भर्ना भएका मध्ये १० घरफर्किसकेका छन् भने चार जना उपचाररत छन् । विशेषगरी छ महिनादेखि ४५ वर्षसम्म मानिस दादुराबाट प्रभावित भएका छन् ।  

चिकित्सकका अनुसार सङ्क्रमित ज्वरो, रुघाखोकी, आँखा रातो हुने तथा शरीरमा दाना आउने जस्ता लक्षण देखिएका छन् भने केहीमा झाडापखाला, निमोनिया तथा नाकबाट रगत बग्ने (एपिस्टाक्सिस) जस्ता जटिल समस्या पनि देखिएको जनाइएको छ।

स्वास्थ्य कार्यालयले सबै शङ्कास्पद बिरामीलाई भिटामिन ‘ए’ प्रदान गर्नुका साथै लक्षणअनुसार उपचार गरिरहेको परिवार कल्याण महाशाखाका  अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।  

उहाँका अनुसार  सङ्क्रमण फैलिन नदिन आइसोलेसनको व्यवस्था मिलाइएको छ।उहाँले बालबालिकालाई खोप लगाउन तथा सावधानी अपनाउन आग्रह गर्नुभयो।