• ६ चैत २०८२, शुक्रबार

सभापति थापाको राजीनामाबारे केन्द्रीय कार्यसमितिले निर्णय गर्छ : सहमहामन्त्री राणा

blog

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा ।

काठमाडौँ, चैत ७ गते । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाका सम्बन्धमा केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीका अधिकांश नेता तथा कार्यकर्ताले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थापाकै आवश्यकता रहेको धारणा व्यक्त गरिरहेको उल्लेख गर्नुभयो ।

सहमहामन्त्री राणाले भन्नुभयो, “विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेस हुन्छ, पदाधिकारीले मात्र भनेर हुँदैन । केन्द्रीय समितिका साथीहरूले यसबारे आफ्नो राय राख्नुपर्छ । अधिकांश साथीले अहिलेको अवस्थामा गगन थापाले राजीनामा दिनुहुन्न भन्ने धारणा राखिरहनुभएको छ ।”

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे जानकारी दिँदै उहाँले अहिले प्रारम्भिक समीक्षा भइरहेको र विस्तृत समीक्षा छिट्टै हुने बताउनुभयो । “हामीले सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्ट माग गरिसकेका छौँ, ती रिपोर्टहरू प्राप्त भइसकेपछि केन्द्रीय समितिको बैठक बसेर गहन रूपमा समीक्षा गरिनेछ,” उहाँले थप्नुभयो ।

पार्टी सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाउनुभएको राजीनामा र निर्वाचनको प्रारम्भिक परिणामका विषयमा शुक्रबारको बैठकमा छलफल हुने एजेन्डा तय गरिएको छ ।