• ६ चैत २०८२, शुक्रबार

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

blog

काठमाडौँ, चैत ७ गते । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अनलाइन प्रणालीमा दर्ता भएकामध्ये सुरुमा करिब छ हजार जनाले आफ असुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्ला दिनमा असुरक्षित महसुस गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपत्कालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “सम्पर्क गर्नेमध्ये अधिकांशले सुरुका दिनमा सुरक्षाको विषयमा जानकारी माग्नुभएको थियो । अहिले अवस्था सामान्य बन्दै गएकाले श्रम स्वीकृतिका विषयमा जानकारी लिनेहरूको सङ्ख्या बढी छ ।”

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य गरिरहेको छ । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको स्पष्ट पार्नुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत स्वदेश फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार पूर्ण रूपमा सजग रहेको र आवश्यक परेको खण्डमा उद्धारका लागिसमेत तयारी अवस्थामा रहेको मन्त्रालयको भनाइ छ ।