अनिल पराजुली
हेटौँडा, चैत ५ गते । बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्धन समितिको आयोजनामा यही चैत १३ गतेदेखि १६ गतेसम्म हेटौँडास्थित पल्पसा हलमा प्रदर्शनी सञ्चालन गरिने भएको हो ।
प्रदर्शनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषिउपज, रैथाने बाली, कृषि औजार, उपकरण तथा आधुनिक प्रविधिहरू प्रदर्शनमा राखिने समितिका संयोजक निलम पाण्डेले जानकारी दिनुभयो । प्रदर्शनीले कृषि उत्पादनको प्रवर्धन तथा किसानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
यसैबिच, मकवानपुर उद्योग वाणिज्य संघको ५९ औँ साधारण सभा आगामी चैत २१ गते शनिबार हेटौँडाको पल्पसा हलमै आयोजना हुने भएको छ । कार्यसमिति बैठकले सो निर्णय गरेको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनुभयो ।
संघका अनुसार साधारणसभाको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी रहने बताइएको छ । महासचिव प्रतिमा श्रेष्ठका अनुसार साधारण सभामा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ ।