नवीनराज कुइँकेल
लमजुङ, चैत ५ गते । लमजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेसीसहरको कालिका चोकमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।
जिल्ला आर्थिक गणना अधिकारी कृतिका चौधरीले आर्थिक गणना कार्यालय स्थापना भएसँगै सेवा प्रारम्भ भएको जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना कार्यालयमा सुपरिवेक्षक र गणकसहित २६ जना जनशक्ति रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरिवेक्षक तथा गणकले स्थानीयस्तरमा आर्थिक वस्तुस्थितिको तथ्याङ्क सङ्कलन गर्नेछन् ।
सुपरिवेक्षक र गणकलाई चैत तेस्रो साता अभिमुखीकरण तालिम प्रदान गरिने र उनीहरूलाई जिल्लाको ८ वटै स्थानीय तहहरूमा खटाइने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।
चैतदेखि असारसम्म गरेर ४ महिनाको लागि कार्यालय सञ्चालन भएको बताउनु हुँदै जिल्ला गणना अधिकारी चौधरीले बैशाख २ गतेदेखि असार ७ गतेसम्म तथ्याङ्क संकलनको कार्य गरिने बताउनुभयो ।
तथ्याङ्क सङ्कलनका क्रममा प्राप्त जानकारी, सूचना कर प्रयोजनमा प्रयोग नहुने तथा कुनै पनि निकायलाई उपलब्ध नगराइने भएकाले निर्धक्क भएर यस अभियानमा साथ र सहयोगको लागि जिल्ला गणना अधिकारी चौधरीले सम्बन्धित सवैलाई अनुरोध गर्नु भएको छ । आर्थिक ऐन २०७९ मा समेत यो प्रावधान स्पष्ट रुपमा उल्लेख रहेको उहाँले बताउनुभयो ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित नेपालमा आर्थिक गणना हुन लागेको हो । नेपालमा पहिलो पटक २०७५ वैशाखमा आर्थिक गणना भएको थियो । पुनः दोस्रो पटक आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक विवरणसँगै उद्योगहरूबाट भएका उत्पादनसम्मको विवरण सङ्कलन गर्न लागिएको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना अघि बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको अध्यक्षतामा बसेको जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकले आर्थिक गणना २०८२ लाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्लास्थित सरकारी निकाय, गैह्रसरकारी, नीजि क्षेत्र तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।