काठमाडौँ, चैत ५ गते । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। सचिवालयले बिहीबारदेखि ती दललाई कार्य सम्पादनका लागि कार्यालयको व्यवस्था मिलाएको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यालय व्यवस्थापन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ठूलो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। अन्य दललाई उनीहरूको सदस्य संख्याका आधारमा स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ।
यसैबीच, नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण आगामी चैत १२ गते दिउँसो २ बजे गर्ने गरी सचिवालयले तयारी अगाडि बढाएको छ। प्रवक्ता गिरीका अनुसार सांसदको शपथ ग्रहणअघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि ती ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सदस्यलाई शपथ गराउने कानुनी व्यवस्था रहेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम प्राप्त हुनासाथ ज्येष्ठ सदस्यको पहिचान गरी नाम राष्ट्रपति कार्यालय पठाइने सचिवालयले जनाएको छ।
बिहीबार सचिवालयले ६ वटा दलका प्रतिनिधिसँग शपथ ग्रहण, कार्यालय व्यवस्थापन र सांसदका लागि सञ्चालन गरिने अभिमुखीकरण कार्यक्रमका विषयमा छलफल गरेको थियो। छलफलका क्रममा दलका प्रतिनिधिहरूले सांसदका लागि प्रदान गरिने अभिमुखीकरण सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
सचिवालयले दलका प्रतिनिधिलाई कार्यालयको प्रत्यक्ष अवलोकन गराउनुका साथै आवश्यक सुधारका लागि सुझाव समेत संकलन गरेको छ। संसदीय दलको कार्यालय व्यवस्थापन कार्य चुनौतीपूर्ण रहे तापनि संसद्को गरिमा र दलको आवश्यकतालाई मध्यनजर गर्दै कार्य अगाडि बढाइएको प्रवक्ता गिरीले बताउनुभयो।