• ५ चैत २०८२, बिहिबार

शनिबार पूर्वी नेपालमा भीषण हावाहुरीको जोखिम, सतर्क रहन प्राधिकरणको अपिल

blog

हावाहुरीले उडाएको भोजपुर नगरपालिका वडा नं १२ कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको छाना । फाइल तस्बिर

काठमाडौँ, चैत ५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि-मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ। लुम्बिनी प्रदेशका दाङ र नेपालगन्जसहित तराईका जिल्लामा पनि शुक्रबारदेखि नै हावाहुरीको जोखिम बढ्ने चेतावनी दिइएको छ।

यसैगरी, शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले हिमाली भेगका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

प्राधिकरणले जोखिमबाट बच्न विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई अपिल गरेको छ। हावाहुरी चलेको बेला घरका झ्याल-ढोका बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) निभाउन, सवारी साधन सुरक्षित ठाउँमा रोक्न र विद्युतीय उपकरणहरू नचलाउन सुझाव दिइएको छ। साथै, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा लत्रिएका तारहरूबाट टाढै रहन समेत प्राधिकरणले अनुरोध गरेको छ।

पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भइसकेकाले नागरिकहरूलाई जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।