• ५ चैत २०८२, बिहिबार

महानगरका विद्यार्थीको निःशुल्क आँखा परीक्षणका लागि सम्झौता

blog

काठमाडौँ, चैत ५ गते । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच बिहीबार महानगरको कार्यालयमा एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र नेपाल आँखा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता अन्तर्गत काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा स्क्रिनिङ तथा प्रारम्भिक उपचार कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्झौता अनुसार महानगरले कार्यक्रम सञ्चालनका लागि अधिकतम ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ । नेपाल आँखा अस्पतालले तोकिएका कम्तीमा ३० वटा सामुदायिक विद्यालयका करिब २० हजार विद्यार्थीको विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा प्रारम्भिक उपचार सेवा प्रदान गर्नेछ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीको आँखा परीक्षणपश्चात् आवश्यक पर्ने चस्मा तथा औषधिको व्यवस्थापन पनि नेपाल आँखा अस्पतालले गर्नेछ । यस पहलले विद्यालयस्तरमै दृष्टि समस्या पहिचान गरी समयमै उपचार उपलब्ध गराउन सहयोग पुऱ्याउने विश्वास लिइएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र स्वास्थ्य विभागका अधिकारीहरू तथा नेपाल आँखा अस्पतालका तर्फबाट कोषाध्यक्ष अनिल गोर्खाली, कार्यसमिति सदस्य केदार कार्की, प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ, आउटरीच संयोजक रामबहादुर केसी तथा आइटी अधिकृत कर्ण देसारको उपस्थिति थियो ।

यस कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट गरिनेछ । यो आँखा परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम २०८३ साल असार १५ गतेसम्म सम्पन्न गरिनेछ । यसबाट विद्यार्थीको दृष्टि स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।