प्रवीणकुमार शर्मा
रौतहट, चैत ५ गते । रौतहटको गुजरा नगरपालिका-३ जङ्गलसहियामा रहेको पशुपति सामुदायिक वनमा बिहीबार आगलागी भएको छ । आगलागी हुँदा करिब २ हेक्टरमा रोपिएका बोट बिरुवा जलेर नष्ट भएको जङ्गलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराले बताउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कार्यालयको संयुक्त सहयोगमा आगलागी नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो ।
आगलागी दुई घण्टामा नियन्त्रणमा आएको र समयमै निभाइए पछि ठुलो क्षतिबाट जोगिएको प्रमुख जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, वनमा आगलागी हुँदा त्यहाँ रहेको खर, टिक, साल, सिसाैंका बोट बिरुवामा क्षति भएको छ ।
आगलागी कसरी भयो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो । नेपाली सेनाले सामुदायिक वनमा रोपेको बोट बिरुवा जलेर नष्ट भएको पशुपति सामुदायिक वनका अध्यक्ष टीका चौधरीले बताउनुभयो ।
वनमा आगो लाग्दा यहाँ रहेका बोट बिरुवाहरू मर्ने र वन सखाप हुने गरेका छन् । सामुदायिक वनको रक्षा गर्न सामुदायिक वनको पदाधिकारी बढी जिम्मेवार हुनुपर्नेमा त्यसो नहुँदा आगलागीका घटनामा वृद्धि भएको छ । पशुपति सामुदायिक वनमा आगलागी हुँदा समेत अध्यक्ष चौधरी घटनास्थलमा नपुगेको स्थानीयले दुखेसो पोखेका छन् ।
मावन जीवनका लागि एक दमै महत्त्वपूर्ण रहेको वनमा पछिल्लो समय आगलागी हुन थालेपछि अहिले गाउँ बस्तीको हावापानी समेत प्रदुषित हुँदै गएको छ । चैतदेखि जेठसम्म वनमा आगलागी हुने सम्भावना धेरै रहेकोले यहाँका स्थानीयलाई सजग रहनका लागि जङ्गलसहिया सब डिभिजन वन कार्यालयले विभिन्न माध्यमबाट जनचेतना फैलाउँदै आएको छ ।
सामुदायिक वनमा यदी कसैले जानीजानी आगो लगायो भने निजलाई ६० हजार जरिवाना र तीन महिना कैदको व्यवस्था रहेको वन एेनमा उल्लेख छ ।