वीरगञ्ज, चैत ६ गते । सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
चैत ६ गते बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगञ्जले सोही महानगरपालिका–१७ बस्ने ५० वर्षका विनय शंकर साहलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । साहले मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर स्रोत नखुलेको रकम ल्याउँदै गरेको अवस्थामा फेला पारिएको थियो ।
निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपियाँसमेत बरामद भएको छ । नियन्त्रणमा लिइएका साहलाई बरामद सामान र नगदसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।