• ६ चैत २०८२, शुक्रबार

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा : सतर्कता अपनाउन आग्रह

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ६ गते । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुरीसहित भारी वर्षा भएको हो ।  भारी वर्षा हुँदा उपत्यकामा दिउँसै अँध्यारो भएको जस्तो देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागले असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक  सावधानी अपनाउन आग्रह गरिएको छ । 

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन  सुझाव दिनुभएको छ। हावाहुरी र असिना पानी परेको समयमा  सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उहाँले आग्रह गर्नुभयो । 

विभागका अनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा हुने अनुमान अनुसार वर्षा भइराखेको छ । 

विभागका प्रवक्ता विभूति पोखरेलले  तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गर्नुभयो । 

“अहिले उपत्यकासँगै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन/चट्याङसहित हल्का पानी परिरहेको छ । यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ”, प्रवक्ता पोखरेलले भन्नुभयो, “मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरी (करिब ५०/६० किमी/घण्टा) चल्ने सम्भावना रहेको छ । यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहनसक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आवश्यक छ ।”

प्रवक्ता पोखरेलका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।