भक्तपुर, चैत ७ गते । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल बार एशोसिएशनद्वारा शुक्रवार भक्तपुरमा आयोजित ‘कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश मल्लले बार र बेन्चबीचको संवादलाई औपचारिकता दिँदै निरन्तरता दिने घोषणा गर्नुभयो । यसले न्याय सम्पादनमा रहेका अवरोध हटाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
अदालत अहिले जटिल परिस्थिति र सङ्कट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै उहाँले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । न्यायाधीश नियुक्तिमा उठ्ने गरेका प्रश्नबारे टिप्पणी गर्दै उहाँले भन्नुभयो, “न्यायाधीश नियुक्ति पारदर्शी ढङ्गले क्षमताका आधारमा र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ । सुशासनका लागि न्याय परिषद्लाई प्रभावकारी बनाउँदै सूक्ष्म निगरानीलाई निरन्तरता दिइनेछ ।”
न्याय क्षेत्रमा महिलाको बढ्दो सहभागिताका बावजुद उनीहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाइने गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । पुरुष न्यायाधीश वा कानून व्यवसायीको क्षमतामा खासै प्रश्न नगरिने तर महिलाहरूले भने प्रत्येक दिन आफ्नो सक्षमताको परीक्षा दिनुपर्ने अवस्था रहेको उहाँको तर्क थियो ।
वरिष्ठतम न्यायाधीश मल्लले भन्नुभयो, “संसद् विघटनजस्तो गम्भीर संवैधानिक मुद्दामा फैसला गर्दा पनि महिलाको क्षमताको परीक्षण सकिएको छैन । आखिर महिलाले कति पटक परीक्षा दिइरहनुपर्ने हो ?” उहाँले न्याय सेवा र सरकारी वकिल समूहमा महिलाको उपस्थिति ३० प्रतिशत पुग्न लागे पनि न्यायाधीश तहमा अझै न्यून रहेको औँल्याउनुभयो । महिलामा लगानी गर्दा त्यसले समाज र राष्ट्रलाई नै दीर्घकालीन फाइदा पुग्ने उहाँले उल्लेख गर्नुभयो।