भक्तपुर, चैत ७ गते । महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार बसाल्न आग्रह गर्नुभएको छ ।
नेपाल बार एशोसिएशनद्वारा शुक्रवार भक्तपुरमा आयोजित ‘कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै महान्यायाधिवक्ता भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भविष्यमा प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
महान्यायाधिवक्ता भण्डारीले भन्नुभयो, “जब म महान्यायाधिवक्ताको पदमा मनोनीत भएँ, त्यतिबेला केही सञ्चारकर्मीले महिलाबाटै मेरो विरोध किन बढी भइरहेको छ भनी प्रश्न गर्नुभयो । सायद हामीले महिला भएर पनि महिलाकै वकालत गर्न जानेनौँ, त्यसैले यस्ता प्रश्न बारम्बार आउने गरेका हुन् ।” उहाँले माथिल्लो पदमा महिला पुग्दा उनीहरूको खुट्टा तान्नुको सट्टा सहयोग गर्ने परिपाटीको सुरुआत गर्न सम्मेलनमा सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कानून व्यवसायी महिला केवल पेसागत भूमिकामा मात्र सीमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको उहाँको तर्क थियो । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भूमिका निर्णायक हुने उहाँले बताउनुभयो । समानता संविधानमा लेखिएको शब्द मात्र नभई व्यवहार र न्यायमा समेत प्रतिविम्बित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।