• ६ चैत २०८२, शुक्रबार

हुम्लाको उच्च क्षेत्रमा हिमपात

blog

सिमकोट गाउँपालिकाको उच्च क्षेत्रमा परेको हिमपात ।तस्बिर :राजन रावत

राजन रावत

हुम्ला, चैत ६ गते । उत्तरी नाम्खा गाउँपालिका लगायतका जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ ।बिहीबार दिउसोबाट मौसममा खराबी आएको भएपनि शुक्रबार राती र बिहान दिउँसो गरि पटकपटक हिमपात भएको हो ।

सदरमुकाम सिमकोटको छोवाखोर लगायत नाम्खा गाउँपालिकाका आधिकांश उच्च क्षेत्रमा हिमपात भएको स्थानीय दशरथ रावतले बताउनुभयो । सिमकोट भन्दा तल भने वर्षा भएको उहाँको भनाइ छ ।

अझै केही वर्षा भए सिमकोटमा समेत हिमपात हुन सक्ने बताउँदै उहाँले जिल्लाभरका आधिकांश उच्च क्षेत्रमा भने हिमपात भई रहेको बताउनुभयो ।

 विशेष गरि नाम्खा गाउँपालिकाका अधिकांश उच्च क्षेत्रमा हिमपात भएको नाम्खा गाउँपालिका-६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

न्यालु, नारा, लाप्चा क्षेत्रमा धेरै हिमपात भएको बताउँदै लिमीमा पनि पानी धेरै भएको हिउँ परेको बताउनुभयो । हिमपात भएपछि चिसो भने निक्कै बढेको छ । हिमपात र वर्षाको कारण शुक्रबार हवाई सेवा पनि अवरुद्ध भएको छ ।

वर्षाले किसानलाई राहत

बिहीबार बेलुकाबाट जिल्लाभर भएको वर्षाले किसानलाई निक्कै राहत भएको सिमकोट गाउँपालिका-५ की किसान नानी रोकायाले बताउनुभयो ।

यतिबेलाको वर्षाले खनजोत गर्न सहज बनाएको र जौ, उवा र गहुँ जस्ता जेठासीबालीलाई राहत पुगेको उहाँको भनाइ छ ।त्यसैगरी फलफूलका बोट बिरुवा लगाउन पनि सजिलो भएको छ ।