गजेन्द्र गुरुङ
खजुरा, चैत ६ गते । बाँकेको नौवस्ता बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग उपलब्ध गराएको छ ।
बालसुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए । त्यसपछि सुधार गृह प्रशासन र बालकहरूको संयुक्त आग्रहका आधारमा फोरमले ३४ हजारभन्दा बढी मूल्य बराबरको खेलकुद सामग्री उपलब्ध गराएको हो ।
शुक्रबार एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले उक्त खेलकुद सामग्री बालसुधार गृह प्रमुख श्याम रानालाई हस्तान्तरण गर्नुभयो । समाजसेवी जयकेस सिंहको रोहबरमा फुटबल ३ थान, भलिबल २ थान, ¥याकेट २ सेट, टेबलटेनिस ब्याट २ सेट, टेबलटेनिस बल ४ थान, लुडो गोटी ५ सेट, चेस गोटी ५ सेट, बास्केटबल १ थान तथा योनेक्स कर्क १ डण्डा हस्तान्तरण गरिएको अधिवक्ता गौतमले दिएको जानकारी दिनुभयो ।
उक्त सामग्री बालकहरूको खेलकुद, मनोरञ्जन र शारीरिक तन्दुरुस्तीमा सहयोग पुग्ने उद्देश्यले उपलब्ध गराइएको उहाँले बताउनुभयो । बालसुधार गृह प्रमुख श्याम रानाले यस्तो सहयोगले बालकहरूको दैनिकीलाई थप व्यवस्थित, सिर्जनशील र स्वस्थ बनाउन मद्दत पुग्ने बताउनुभयो ।
उहाँका अनुसार खेलकुद सामग्रीले बालकहरूलाई शारीरिक तथा मानसिक रूपमा सन्तुलित राख्न सहयोग पुग्नेछ भने सुधार गृह प्रशासनलाई समेत राहत मिलेको छ । सुधार गृहमा रहेका बालकहरूले पनि पर्याप्त खेलकुद सामग्री नहुँदा फुर्सदको समय प्रभावकारी रूपमा उपयोग गर्न कठिनाइ भएको बताउँदै नयाँ सामग्री प्राप्त भएपछि खेल, मनोरञ्जन र तन्दुरुस्तीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका अधिवक्ता गौतमले जानकारी दिनुभयो ।
फोरमले यसअघि पनि बालसुधार गृहमा रहेका बालकहरूका लागि शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापनासम्बन्धी सहयोग गर्दैआएको छ । संस्थाले अङ्ग्रेजी भाषा सिकाइ, हेयरकट तालिमलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आर्थिक रूपमा कमजोर र कानुनी व्यवसायी राख्न नसक्ने पक्षका लागि निःशुल्क कानुनी सहायता पनि उपलब्ध गराउँदैआएको छ ।
समग्रमा खेलकुद सामग्री सहयोगले बालकहरूको जीवनशैली, मनोरञ्जन र तन्दुरुस्तीका लागि सकारात्मक पहलका रूपमा देखिएको अधिवक्ता गौतमले बताउनुभयो ।