• ६ चैत २०८२, शुक्रबार

जनजाति महासंघको नयाँ नेतृत्व रातिसम्म चयन गर्ने तयारी

blog

नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को उदघाटनसत्रमा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ६ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । विहान ९ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिनको २ बजेसम्म पनि सुरु हुन सकेको छैन । 

स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बन्दसत्र गर्ने निर्णयअनुसार अहिले नाम दर्ता, कार्ड वितरण, दायित्व शुल्क संकलनको काम भइरहेको महासचिव दिवस राईले बताउनुभयो । खाना खाएर बन्दसत्रको कार्यक्रम सुरु गर्ने तयारी भएको उहाँको भनाइ छ । 

विभिन्न ५६ वटा जातीय संघ संस्था र महासंघमा आवद्ध संघ संस्थाबाट करिब पाँचसय प्रतिनिधि महाधिवेशनमा सहभागी रहेको उहाँले बताउनुभयो । आज बन्दसत्रको सुरुमा कोषाध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदनबारेमा छलफल हुने र त्यसलाई पारित गरिने महासचिव राईले बताउनुभयो । 

निर्वाचनमा ५६ वटा जातीय संस्थाको तर्फबाट एक–एक जना मतदाता रहने वैधानिक व्यवस्थाअनुसार सम्भवतः सर्वसम्मतबाट नभए निर्वाचन प्रक्रियाअनुसार नयाँ कार्य समिति चयनको काम हुने उहाँले बताउनुभयो । सम्भवतः आजै राति अबेरसम्म नयाँ कार्य समिति चयन हुने सम्भव नभए शनिबार विहानबाट निर्वाचन प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । 

नयाँ नेतृत्वका लागि अहिलेसम्म दिवस राई, मोहन छन्त्याल, अमृत सुनुवार, निमा शेर्पा, जीवन हाछेथु लगायतको दावी रहेको छ । वर्तमान अध्यक्ष गेल्जे लामा शेर्पाले सर्वसम्मत कार्यसमिति चयनको प्रयास जारी रहेको बताउनुभयो । सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिने उहाँको भनाइ छ । 

११ औं महाधिवेशनको उदघाटनसत्र बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उदघाटन गर्नुभएको थियो । बन्दसत्रमा विधान संशोधनको मस्यौदासमेत प्रस्तुत गर्ने तयारी भइरहेको महासचिव राईले बताउनुभयो । तर विधानको विषयलाई छुट्टै विधान सम्मेलनमार्फत टुङ्गोमा पुग्ने विषयमा छलफल जारी रहेको उहाँले बताउनुभयो ।