• ६ चैत २०८२, शुक्रबार

पोखरा लेकसाइडमा महोत्सव २०८३ को तयारी

blog

पोखराको लेकसाइडमा रहेका घर र फेवा ताल ।

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ६ गते । हरेक वर्ष उत्सवको रुपमा मनाइने नयाँ वर्षलाई यस वर्ष पनि पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८३ मा महोत्वसको रुपमा मनाइने तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव लेकसाइडमा २९ चैतदेखि बैशाख १ गतेसम्म आयोजना गर्ने भएको हो । 

फेवाताल किनारको लेकसाइडको सडकमा हुने यो महोत्सवमा पर्यटन, संस्कृति र खानालाई जोड दिइने आयोजकले जनाएको छ । आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यसपाली हुने महोत्सवको तयारी तीव्र गतिमा भइरहेको बताउनुहुन्छ । 

“नेपाली नयाँ वर्षलाई विशेष तवरले मनाउन महोत्सव गर्दैछौँ” उहाँले भन्नुभयो, “महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत बनिसकेका छन् ।” सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सव सहसंयोजकको जिम्मेवारी दिइएको छ । जेन–जी आन्दोलन र चुनावसँगै आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास गरिएको छ । 

नेपाली नयाँ वर्षलाई विशेष तवरले मनाउँदै फेवा ताल संरक्षणको सन्देश समेत प्रवाह गर्ने महोत्सवका मूल संयोजक रहनुभएका सुवेदी बताउनुहुन्छ । महोत्सवका लोकदोहोरी तथा गीत सङ्गीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् । महोत्सवको प्रचारसँगै निमन्त्रणा गर्दै चैत ९ गतेदेखि १३ गतेसम्म सङ्घले पूर्वी नेपालका विभिन्न शहरमा ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन गरेको छ ।