गजेन्द्र गुरुङ
खजुरा, चैत ६ गते । बाँकेको नेपालगन्जमा नयाँ होटल थपिएको छ ।नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा नयाँ दुईतारे होटल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवासुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
करिब १५ करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भई शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्डअनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक कँडेलले बताउनुभयो ।
उहाँका अनुसार होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि दुई वटा विशेष स्वीट रुम उपलब्ध छन् ।सबै कोठाहरूमा एसी र २४सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि आठ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।
पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ईसेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सभा÷सेमिनारका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका सञ्चालक कँडेलले जानकारी दिनुभयो ।
सवारीसाधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ ।नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुर्याउने विश्वास लिएको होटलले जनाएको छ ।