शेरबहादुर सार्की
बाजुरा, चैत ६ गते ।बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य इकाई स्थापना गरी आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेपछी स्थानीयले गाउँमै उपचार सेवा पाउन थालेका छन् ।
पहिले यहाँका गर्भवती महिला गर्भजाँच तथा सुत्केरी हुन दुई दिनसम्म पैदल यात्रा गरी कोल्टी अस्पताल पुग्न बाध्य थिए । सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेकामा हाल त्यो समस्या क्रमशः समाधान हुँदै गएको छ ।
अहिले गर्भवती महिलाले गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भजाँच तथा सुत्केरी सेवा लिन थालेका छन् भने अन्य बिरामीले पनि स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिरहेका छन् ।
सात वडामा फैलिएको हिमाली गाउँपालिका भौगोलिक रूपमा अत्यन्त दुर्गम क्षेत्रमा पर्दछ ।गाउँबस्तीहरू छरिएका कारण एक वडाबाट अर्को वडासम्म पुग्नसमेत दुईदेखि तीन दिन लाग्ने अवस्था रहेको छ ।
स्थानीयलाई वडासम्म पुग्नसमेत केही घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अझै कायम छ ।यद्यपि, गाउँपालिकाले पछिल्लो समय गाउँबस्तीमै स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार पहिले सामान्य औषधि किन्नसमेत टाढा जानुपर्ने अवस्था रहेकामा अहिले अधिकांश सेवा गाउँमै उपलब्ध हुन थालेको छ ।
गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक औषधि तथा उपकरण उपलब्ध गराउँदै आएको र सामान्य बिरामीलाई बाहिर जानुपर्ने अवस्था अन्त्य भएको उहाँले बताउनुभयो ।त्यसैगरी, गाउँपालिकाको केन्द्र धुलाचौरमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण गरिएको छ ।
जटिल प्रकृतिका बिरामीको उपचार गाउँमै गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार २०७५ सालपछि मात्र हिमाली क्षेत्रमा विकासको अनुभूति हुन थालेको हो ।
करिब नौ हजार २१४ जनसङ्ख्या रहेको यस गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट विनियोजन गर्दै सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।यसका कारण अहिले स्वास्थ्य केन्द्रहरूमा आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था भएको छ ।
पहिलेको तुलनामा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय फड्को मारेको स्थानीयले बताएका छन् ।