लीलाधर वली
घोराही, चैत ३ गते । देउखुरीको विशाल राप्ती उपत्यकाको उत्तरतर्फ चुरे पहाड शृङ्खलामा अवस्थित देवीकोट प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य भए पनि पूर्वाधार अभावका कारण पछि परेको छ ।
देवीकोट उक्लिएपछि देउखुरी उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी रहेको राप्ती उपत्यकादेखि धौलागिरी हिमाल, जलजला लगायतका सुन्दर दृश्य हेर्न सकिने भए पनि आवश्यक पूर्वाधार नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।
राप्ती गाउँपालिकाको मुख्य भालुवाङ बजारदेखि करिब १२ किलोमिटर उत्तर, समुद्री सतहबाट करिब १ हजार ५०० मिटर उचाइमा देवीकोट अवस्थित छ । कच्ची सडक हुँदै राप्ती गाउँपालिका–९ स्थित देवीकोट पुग्न पैदल करिब डेढ घण्टा लाग्ने स्थानीय वीरेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार यहाँ रहेको भद्राक्षी देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको केन्द्रका रूपमा परिचित छ ।
धार्मिकसँगै साहसिक पर्यटनका लागि पनि देवीकोटमा पर्याप्त सम्भावना रहेको कार्कीको भनाइ छ । यहाँबाट प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको र निजी क्षेत्रले व्यावसायिक उडानको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
तर सडक, खानेपानी, विद्युतलगायत आधारभूत पूर्वाधारको अभावले क्षेत्रको विकासमा बाधा पुगेको छ । “यहाँ पुग्ने राम्रो बाटो छैन । वर्षायाममा कच्ची बाटोले समस्या हुन्छ भने हिउँदमा धुलोले आउजाउ गर्न कठिन हुन्छ,” कार्कीले भन्नुभयो ।
देवीकोटबाट उत्तरतर्फ हिमाली दृश्य र दक्षिणतर्फ राप्ती उपत्यकाको विविधता अवलोकन गर्न सकिने देवीकोट निवासी ६८ वर्षीय सत्रबहादुर खत्रीले बताउनुभयो । मौसम सफा हुँदा धौलागिरी हिमालसहित आसपासका पहाडी क्षेत्र स्पष्ट देखिने उहाँको भनाइ छ ।
पूर्वाधार विकास नभएसम्म क्षेत्रको समग्र विकास सम्भव नभएको बताउँदै खत्रीले कालोपत्रे सडकसहित आवश्यक संरचना निर्माण गर्न सके देवीकोट उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राख्नुभयो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देवीकोटको पर्यटन सम्भावना उजागर गर्न गाउँपालिकाले विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो । हालै देवीकोटसम्म म्याराथन प्रतियोगिता आयोजना गरिएको र साहसिक पर्यटन प्रवद्र्धनका लागि योजना बनाइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार देवीकोटमा छिट्टै व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी भइरहेको छ । “धार्मिकसँगै एड्भेन्चर पर्यटनका लागि पनि देवीकोट धेरै सम्भावना बोकेको ठाउँ हो,” उहाँले भन्नुभयो ।
स्थानीय जनविश्वासअनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर परिक्रमा गर्ने क्रममा सतीदेवीको देब्रे खुट्टा पतन भएको स्थल देवीकोट हो । यस कारण यस स्थानलाई शक्तिपीठका रूपमा पनि मानिन्छ । यहाँ वर्षौंदेखि भक्तजनले पूजा–आराधना गर्दै आएका छन् । विशेषगरी दशैं, नवरात्र र अन्य पर्वका अवसरमा यहाँ भक्तजनको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।