काठमाडौँ, चैत ६ गते । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले पूर्वी नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिनुभयो । अहिले देशभर नै मौसम बदली रहेको अन्य क्षेत्रमा हल्का वर्षा भइरहेकामा नेपालको मध्य क्षेत्रभन्दा पूर्वका विभिन्न जिल्लामा वर्षा भइरहेको उहाँले बताउनुभयो ।
वर्षामापन केन्द्रमा आज साँझ भएको रेकर्डअनुसार पछिल्लो तीन घण्टामा सिरहामा ३२.२, उदयपुरमा २४.८, मोरङमा २१.८, सिन्धुपाल्चोकमा २०.२, खोटाङमा ११.२ मिलीमिटर वर्षा भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा हल्कामात्रै वर्षा भएको छ । साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात भएको छ । अहिले वर्षा पूर्वकेन्द्रित रहेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरमा ४६.४ मिलीमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौँमा ४५.२ र दाङमा ४२.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार आज राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ र असिना र हुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।
त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ । रासस