काठमाडौँ, चैत ६ गते । ऐतिहासिक जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई संसदीय अभ्यास, गरिमा र नागरिकप्रतिको उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटमा विजयी रास्वपाले नवनिर्वाचित सांसदलाई संसद्मा गर्नुपर्ने काम र आफ्नो जिम्मेवारीबारे प्रस्ट जानकारी दिएको हो ।
चैत ३ र ४ गते आयोजित अभिमुखीकरण कार्यक्रमलाई सभापति रवि लामिछानेले रास्वपालाई असाधारण जनादेश प्राप्त भएको प्रस्ट पार्दै नागरिको आशा र भरोसा पूरा गर्नैपर्ने बताउनुभयो । उहाँले निर्देशनात्मक सम्बोधनमा सांसदलाई आफ्नो दायित्व स्मरण गराउनुभयो । प्रशिक्षणमा सहभागी सांसद एवं नेताले पनि संसद् बैठकअघि आयोजित प्रशिक्षणमा संसदीय अभ्यास, जिम्मेवारी र अबको मार्गचित्रबारे प्रस्ट हुने अवसर पाएको बताउनुभयो ।
कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य हरि ढकाल र प्रकाशचन्द्र परियारले मतदाताले देश निर्माणका लागि सुम्पिएको जिम्मेवारी पूरा गर्ने सवालमा प्रशिक्षणमार्फत जागरुक, सचेत र दायित्व स्मरण गराइएको बताउनुभयो । कोषाध्यक्ष अधिकारीले रास्वपालाई नागरिकले ठुलो जनादेश र विश्वास सुम्पेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएका छौँ । पाँच वर्षसम्म जनताका बिचमा गरेका वाचा र हाम्रा मुद्दा पूरा गर्ने मार्गचित्र प्रस्तुत गर्नकै लागि अभिमुखीकरण आयोजना गरिएको हो । हाम्रा मुद्दा पूरा गर्न अझै सचेत भएर अघि बढ्ने छौँ ।”
सहप्रवक्ता रमेश प्रसाईंले आत्मसमीक्षा र सुधारका लागि अभिमुखीकरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आत्मसमीक्षा र सुधारका लागि (अभिमुखीकरण) अत्यन्तै जरुरी थियो । सङ्गठनका हिसाबले राजनीतिक परिपक्वता र संसदीय अभ्यासको अनुभव हासिल गर्न बाँकी छ । त्यसैले विज्ञ र अनुभवी राजनीतिज्ञबाटै प्रशिक्षित गराइएको हो ।”
सहप्रवक्ता प्रसाईंले संसद्मा आउनुको कारण, रास्वपाको उदय, जनताको विश्वास र अबको गन्तव्यबारे सांसदलाई जानकारी दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा छलफल भयो । जनताले धेरै ठुलो कुरा मागेका छैनन् । कम्तीमा अस्पतालमा उपचार गर्न बेड पाउन सोर्सफोर्स लाउन नपरोस् । भनसुन र भाइभतिजावादको परम्परालाई समाप्त पार्नु रास्वपाको तत्कालको काम हो । प्रशिक्षण पनि यही विषयकेन्द्रित थियो ।”
केन्द्रीय सदस्य ढकालले रास्वपाका १८२ सांसदमध्ये १३ जना सांसद मात्रै संसदीय अभ्यासबारे जानकार रहेकाले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो । उहाँले संसदीय अभ्यास, संसद्को गरिमा र कानुन निर्माणका प्रक्रियाबारे गहन छलफल गरेको बताउनुभयो । उहाँले कानुन निर्माणको थलोमा पालना गरिने प्रक्रिया र सदनको मर्यादालाई उच्च राख्ने सन्दर्भमा पनि प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका बजेट निर्माण प्रक्रियामा धेरै त्रुटि थिए । पहिले पहुँचका आधारमा र मन्त्रीका वरिपरि हुने वा पहुँचवालाको क्षेत्रमा मात्र बजेटकेन्द्रित हुन्थ्यो । अब यो शैलीलाई चिरेर पहुँचका आधारमा होइन, आवश्यकताका आधारमा बजेट विनियोजन हुनु पर्छ । सदनको गरिमा र मर्यादा कायम राख्दै जनताका समस्या र आवाजलाई यसरी प्रस्तुत गर्नु पर्छ कि जनताले त्यसमा आफ्नो अपनत्व महसुस गरून् भन्ने विषयमै प्रशिक्षण केन्द्रित थियो ।”
केन्द्रीय सदस्य परियारले प्रभावकारी परिणाम दिनकै लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले जेनजी जनआन्दोलको जगमा भएको निर्वाचन र त्यसले गरेको मतको क्रान्ति र त्यो मत क्रान्तिको जगमा जो रास्वपाले दुई तिहाइनजिकको जनमत हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा आहारविहार, उठबस, मर्यादा, प्रोटोकलका कुरा, नेपाली जनताको चाहनाका कुरा, नेपाली जनतालाई हामीले डेलिभर गर्ने कुरा र कानुन निर्माणकर्ताका रूपमा संविधान र ऐन–कानुनबारे प्रशिक्षित हुन पाइयो । कार्यविधि र कतिपय संशोधनयोग्य कानुनका बारेमा हुने दफावार छलफल र संसदीय समितिलाई बिजनेस दिने विषयमा पनि विमर्श भएको छ ।”
भावी कार्यदिशा र दायित्व
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको मार्गचित्र बनाएको र नेपाललाई आगामी सात वर्षभित्रमा मध्यम आय भएका मुलुकका रूपमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एउटै लयमा ल्याउन पार्टीको विधान, बाचापत्र, साङ्गठनिक संरचना र संसद–पार्टी समन्वयबारे अभिमुखीकरणमा प्रस्ट पारिएको छ । विशेष गरी आर्थिक लक्ष्य हासिल गर्ने सन्दर्भमा हामीले गर्नैपर्ने योजनाबद्ध कामबारे पनि प्रस्ट मार्गचित्र बनाइएको छ ।”
सहप्रवक्ता रमेश प्रसाईंले संविधान संशोधन गर्ने, सङ्घीयतामा सुधार गर्ने, निजामती कर्मचारीतन्त्रदेखि न्यायपालिकासम्मलाई राजनीतिक भागबन्डा र दलतन्त्रबाट मुक्त गराउने र भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य लक्ष्य निर्धारण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई दण्डित गर्नुपर्ने छ । भविष्यका लागि ठेक्का प्रणाली वा नियुक्तिमा हुने गलत अभ्यास बन्द गर्नु पर्छ । हाम्रो प्रतिबद्धता अनुसार २०४६ पछिका सम्पूर्ण भ्रष्टाचारका काण्डको गैरदलीय र निष्पक्ष आयोगमार्फत छानबिन गर्ने हो । यो नै हाम्रो अबको गन्तव्य हो ।”
नेता हरि ढकालले विगतका कटाक्ष, गालीगलौज र स्वार्थकेन्द्रित राजनीतिक अभ्यासलाई छाडेर अब संसदीय मर्यादा र गरिमालाई बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई रूपान्तरणको अनुभूति दिलाउने बताउनुभयो । उहाँले नौ÷१० महिनामै सरकार परिवर्तन हुने प्रवृत्तिले संसदीय व्यवस्थालाई कमजोर बनाएको तर्क गर्दै अस्थिर चरित्रले जनताले नै दण्डित गरेकाले अब सुशासनतर्फ अघि बढ्ने बताउनुभयो ।