हङकङ, चैत ६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको छ।
नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ ।
व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने बताउनुभएको थियो ।
द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दा लगानीकर्ताहरू ऊर्जा बजारको बारेमा चिन्ता व्यक्त गरिरहँदा खाडी क्षेत्रका उर्जा केन्द्रहरूको स्वामित्वप्रति नयाँ लगानीकर्ताहरूको रूची प्रायः घटेको छ । तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ।
इजरायल र संयुक्त राज्य अमेरिकाले ‘विजय हासिल गरिरहेको र इरानलाई ध्वस्त पारिरहेको छ’ भन्दै नेतान्याहूले भन्नुभयो, “इस्लामिक गणतन्त्रसँग युरेनियम प्रशोधन गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता छैन ।”
“यो युद्ध मानिसहरूले सोचेभन्दा धेरै छिटो समाप्त हुँदैछ, “उहाँले कुनै निश्चित समय सीमा नदिई भन्नुभयो ।
नेतन्याहूले भन्नुभयो,“इजरायलले संयुक्त राज्य अमेरिकालाई हर्मुजलाई सुरक्षित गर्ने प्रयासमा मद्दत गर्नेछ, जसमार्फत विश्वव्यापी तेल र ग्यासको पाँच भागको एक भाग प्रवाह हुन्छ।”
वासिङ्टनले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताएपछि नेतन्याहुको भने फरक टिप्पणी आएको हो।
नेतन्याहूको टिप्पणी अघि तेहरानले आफ्नो दक्षिण पार्स क्षेत्रमा इजरायलको आक्रमणको बदलामा खाडी वरपरका धेरै ऊर्जा स्थलहरूमा आक्रमण गरेपछि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो।
इरानको ग्यास क्षेत्रमा आक्रमण गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले कुरा गरेको छु। मैले इजरायली अधिकारीलाई इन्धन उत्पादन तथा प्रशोधनस्थललाई निशाना नबनाउन आग्रह गरेको छु र उसले त्यसो गर्दैन।”
उहाँले यसअघि नै इरानलाई चेतावनी दिनुभएको थियो, “यदि तेहरानले कतारमाथि आक्रमण गर्न बन्द गरेन भने अमेरिकी सेनाले दक्षिण पार्स क्षेत्रमा ‘व्यापक रूपमा विस्फोट गर्ने’ छ।
यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो देशले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग संयुक्त राष्ट्र सङ्घको फ्रेमवर्क स्थापना गर्ने योजना बनाएको बताउनुभएको छ।
द्वन्द्व चाँडै समाप्त हुने सम्भावना नरहेको सङ्केतमा खाडी राष्ट्रहरूले नयाँ आक्रमणको सामना गर्नुपरेको बेला इजरायलले शुक्रबार तेहरानमा आक्रमणको लहर सुरु गर्यो भने इरानले कुवेतस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरी छिमेकीहरूलाई निशाना बनाइरहेको छ ।
एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले लेख्नुभएको छ, “नेतन्याहूको टिप्पणीले भावनामा सुखदायक मलमको एक तह पोखेको छ, स्ट्रेट सुरक्षित गर्ने कुरा र इरानको परमाणु र मिसाइल क्षमतालाई निष्प्रभावी गरिएको दाबी गरिएको छ, जसले यो द्वन्द्व डर मानिएभन्दा छिटो अन्त्य हुन सक्छ भन्ने विचारलाई बढावा दिन्छ।” रासस