आपूर्ति व्यवस्था चुस्त बनाउँदै उत्पन्न परिस्थितिलाई सहज तुल्याउन सबै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । विश्वमा भइरहेका पछिल्ला घटनाक्रमसँग हामी सबै परिचित छौँ र परिचित हुनु पर्छ । अप्ठेरो अवस्थामा पनि धैर्य र संयमपूर्वक सहकार्य साथै सहयोगी भूमिका निर्वाह गर्ने हो भने परिस्थितिलाई सहज बनाउन सकिन्छ । म मात्र होइन, हामी सबै मिलेर बाँचौँ, आइपर्ने कुनै पनि समस्या सामूहिक प्रयासबाट समाधान गरौँ भन्ने भावना विकास गर्ने हो भने जुनसुकै समस्याको पनि निकास सम्भव हुन्छ । सरकार, निजी क्षेत्र र आमनेपाली जनता मिलेर काम गर्दा मुलुकसामु आइपर्ने जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ । अहिले अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै छ । रुस र युक्रेनबिचको युद्ध नटुङ्गिँदै पश्चिम एसिया भीषण युद्धमा फसेको छ । अमेरिका र इजरायलले इरानसँग युद्ध गरिरहेका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित छ । अरबको खाडी क्षेत्रबाट सहज रूपमा इन्धन आपूर्तिमा कमी आएसँगै पेट्रोलियम पदार्थको ह्वात्तै मूल्यवृद्धि भएको छ । यसको असर उपभोक्ताको भान्सासम्म परेको छ । यो कुरा हामी सबैले बुझ्नु पर्छ । खाना पकाउने ग्यास, डिजेल, मटितेल र पेट्रोल हाम्रो उत्पादन होइन, बाहिरबाट ल्याउनु पर्छ । त्यसैले यसको प्रयोग विवेकपूर्ण तरिकाले गर्नु पर्छ । अनावश्यक भण्डारण गर्नु हुँदैन । खाना पकाउन ग्यासको सट्टा स्वदेशकै बिजुलीको प्रयोग गर्नु राम्रो हुन्छ । विद्युतीय सवारीसाधानको प्रयोगलाई पनि जोड दिनु पर्छ । बाह्य कारण देखाएर उपभोग्य सामग्री लुकाउने, अनावश्यक मूल्यवृद्धि गरी कालोबजारी गर्ने प्रवृत्तिलाई सबै मिलेर रोक्नु पर्छ । जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि धैर्यपूर्वक विवेक प्रयोग गरेर सहज ढङ्गले बाँच्न सिक्नु र सिकाउनु पर्छ । यसका लागि सामूहिक भावना हुनु पर्छ । उद्योगी, उद्यमी, व्यवसायी र व्यापारीले व्यावसायिक धर्म बिर्सनु हुँदैन ।
मूलतः अन्तर्राष्ट्रिय कारण नेपाली बजारमा मूल्यवृद्धिको नकारात्मक असर देखा पर्न थालेको छ । अन्तर्राष्ट्रियस्तरमा आपूर्ति शृङ्खला प्रभावित हुँदा नेपालमा आयात हुने सामान र औद्योगिक कच्चा पदार्थको लागत बढेको छ, जसले आमसर्वसाधारणलाई महँगीको चर्को मार पर्न थालेको छ । समुद्रीमार्गमा देखिएको जोखिमका कारण सिप्मेन्ट कम्पनीले प्रतिकन्टेनर झन्डै दुई हजार डलरसम्म अतिरिक्त भाडा बढाएका कारण वस्तुको मूल्यवृद्धि भएको उद्योगी तथा व्यापारी बताउँछन् । यसले आयातित वस्तुको लागत बढाउन मुख्य भूमिका खेलेको छ । नेपाल कच्चा पदार्थ र उपभोग्य वस्तु दुवैमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा हुने सामान्य उतारचढावले पनि यहाँको बजारलाई अस्थिर बनाउँछ । प्लास्टिकजन्य सामान बनाउन प्रयोग हुने ‘ग्रेनुअल्स’ को मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । खाडी मुलुकबाट सिपमेन्ट रोकिएको र भारतले पनि औद्योगिक कच्चा पदार्थभन्दा खाना पकाउने ग्यास आयातलाई प्राथमिकता दिएकाले यो समस्या जटिल बनेको छ । निर्माण क्षेत्रमा मूल्यवृद्धिको झन् धेरै असर परेको छ । फलामे डन्डीको उपभोक्ता मूल्य प्रतिकेजी पाँच रुपियाँका दरले बढेको छ भने सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँका दरले बढाइएको छ । निर्माण क्षेत्रमा प्रयोग हुने पिभिसी पाइप, प्लास्टिकका पाइप, बिजुलीको तारलगायतका वस्तुको मूल्य अकासिएकाले निर्माण कार्य महँगो हुँदै छ । यसले विकासनिर्माणका काममा समेत गम्भीर असर पु¥याउने अवस्था छ ।
कच्चा पदार्थ नै नपाउने समस्याले उद्योगहरू बन्द हुने अवस्थामा छ । एलसी खोलेर पैसा पठाइसकेको सामानसमेत भारतीय वा तेस्रो पक्षका आपूर्तिकर्ताले दिन इन्कार गरिरहेको छन् । भारतीय आपूर्तिकर्ताले पुरानो अर्डर रद्द गरेर नयाँ बढेको मूल्य मागिरहेका छन् । यसले गर्दा नेपाली उत्पादन विशेष गरेर प्लास्टिकजन्य वस्तु ३५ देखि ४० प्रतिशतसम्म महँगो हुने स्थिति देखिएको छ । पछिल्लो मूल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्ताले दैनिक प्रयोग गर्ने खाने तेलमा पनि परेको छ । तोरीको अभावले खानेतेलको मूल्य बढेको हो । अहिले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगमा समेत कच्चा तोरीको कमी भएको छ । स्वदेशको तोरी खरिद नगरी बाहिरबाट तोरी ल्याउने गरिएकाले यस्तो अवस्था आएको हो । सूर्यमुखी तेलमा प्रतिलिटर २५ रुपियाँ वृद्धि भएर २७५ उत्पादन मूल्य पुगेको छ । यसै गरी सोयाबिनमा १५ रुपियाँ वृद्धि भएर २६५ र तोरी तेलमा १५ रुपियाँ वृद्धि भएर २८८ उत्पादन मूल्य पुगेको छ । अतः उद्योगहरूले उपलब्ध भएसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेतिर ध्यान दिनु पर्छ । स्वदेशमै उत्पादन बढाउँदै आयात प्रतिस्थापनमा गर्न सक्ने हो भने चर्को मूल्यवृद्धि हुने अवस्था नियन्त्रण गर्न सकिने छ । यसका लागि स्वदेशी उत्पादनको उपभोग र प्रयोगमा जोड दिनु पर्छ ।