बुलबुले समाचारदाता
सुर्खेत, चैत ६ गते । ठुला आयोजना निर्माण गर्दा वन बाधक बन्ने गरेको छ । निर्माण गरिएका नीति सङ्घमा निर्भर हुँदा स्थानीय तथा प्रदेश सरकारले निर्माण गर्ने अधिकांश विकासनिर्माणका काम रोकिने गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणको काममा पनि वन बाधक बनेको छ । बर्सांैदेखि रुख कटानको अनुमति नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने खण्डमा काम गर्न सकिएको छैन । प्रदेश सरकारले भने विभिन्न समयमा पहल गर्दै आएको छ । सङ्घीय सरकारले सुनुवाइ नगर्दा काम हुन सकिरहेको छैन । पटक पटक रुख कटानका लागि फाइल पेस गर्ने गरिएको भए पनि काम हुन नसकेको हो । फेरि पनि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जग्गा भोगाधिकारका लागि फाइल अघि बढाएको छ ।
रुख कटानको अनुमतिका लागि फागुन १९ गते सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पेस गरिएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले बताउनुभयो । मन्त्रालयले छ महिनाअघि वातावरणीय अध्ययन गरेको थियो । अब जग्गा भोगाधिकारको अनुमति पाए काम अघि बढ्ने उहाँको भनाइ छ । रुख कटानको अनुमति नहुँदा निकुञ्ज क्षेत्रमा काम ठप्प छ ।
प्रदेश सरकारले पहल थालेको लामो समय भइसक्दा पनि वनको समस्या समाधान हुन सकेको छैन । उक्त सडकखण्ड अन्तर्गत अन्य स्थानमा भने धमाधम काम भइरहेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले स्रोत सुनिश्चित गरी काम अघि बढाएको हो । निर्देशनालयले चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिको कामका लागि ठेका आह्वान गरेको थियो ।
कुल १० किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माणको काम थालनी भएको छ । २०८३ पुस ३० मा सम्पन्न गर्ने गरी १८ करोड ५२ लाख २३ हजार ८५१ रुपियाँ (भ्याटसहित) लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।
पूर्वाधार निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीका अनुसार सडक निर्माणको ५० प्रतिशत काम सकिएको छ । अब सबबेस र बेस निर्माणको काम मात्र बाँकी रहेको शाहीले जानकारी दिनुभयो । शाहीले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रुख कटानको अनुमति आए काम सुरु गर्ने उहाँको भनाइ छ । अहिले सङ्घीय भौतिक मन्त्रालयमा फाइल पेस गरिएको छ ।