सिराज खान
नेपालगन्ज, चैत ६ गते । नेपाली कांग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरी कारवाहीको सिफारिस गरेको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आचरण, अनुशासन र विधान विपरित कार्य गरेको भन्दै महासमिति सदस्य लक्ष्मी नारायण शाह र प्रदेश महाधिवेशन प्रतिनिधि राजु यादवलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाहीका लागि सिफारिस गरिएको नेपाली कांग्रेस बाँकेले केन्द्रमा पठाएको सिफारिस पत्रमा जनाइएको छ।
नेपाली कांग्रेस बाँकेका अनुशासन समितिका संयोजक मनप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा दुबैजनालाई पार्टीको आचरण, अनुशासन र विधान विपरित कार्य गर्दै बाँके निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविरुद्धको गतिबिधिमा संलग्न भई पार्टीलाई हानी पु¥याउने कार्य गरेको आरोप लगाइएको छ।
बाँके कांग्रेसले शाह र यादवलाई नेपाली कांग्रेसको विधान २०१७ परिच्छेद ९, धारा ३४ (क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० (२९) को १ (क) र (ङ) अनुसार ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न केन्द्रिय अनुशासन समितिलाई सिफारिस गरेको संयोजक आचार्यले जानकारी दिनुभयो।
निर्वाचनको समीक्षा गर्न नेपालगन्जमा बसेको समीक्षा भेलामा कारवाही सिफारिस सुनाए लगत्तै शाह र यादव समर्थकहरूले नाराबाजी गरेका थिए र केहीबेर भेलामा हलचल पनि भएको थियो।
नेपाली कांग्रेस बाँकेले जनाएको छ कि निर्वाचनमा पार्टीको आचरण, अनुशासन र विधान विपरित कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्न पछि हटिने छैन।
