• ६ चैत २०८२, शुक्रबार

जिल्ला प्रशासन कार्यालयमा सीमा पास लिने संख्या बढ्दै

blog

जिल्ला प्रशासन कार्यालयमा सीमा पास लिन आएका सेवाग्राहीहरूको घुइचो। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत ६ गते ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा सीमा पास लिने व्यक्तिको संख्या बढ्दै गएको छ। नाम्खा गाउँपालिका–५ को चार हजार ६७० मिटर उचाइको नारा लेकमा जमेको हिउँ सफा गरेर सडक सुचारु भएपछि हिल्सा नाकाबाट चीनको ताक्लाकोट जाने काम र व्यवसायका लागि स्थानीयले सीमा पास लिन थालेका हुन्।

प्रमुख जिल्ला अधिकारी टेक कुमार रेगमीका अनुसार, फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि हुम्लाका युवायुवतीहरू चीनको ताक्लाकोटमा व्यापार तथा अन्य कामका लागि सीमा पास लिन आएका छन्। यस वर्ष निर्वाचनपछि नयाँ सीमा पास लिने संख्या १७७ पुगेको छ भने नविकरण गर्ने संख्या ६७ पुगेको छ। अधिकाँश आवेदक नाम्खा गाउँपालिका र केही सिमकोट गाउँपालिकाका रहेका छन्।

नाम्खा गाउँपालिका–५ की यारीकी पाल्मु तामाङले नारा लेकको सडक सञ्चालन भएपछि चीनको ताक्लाकोटमा होटेल व्यवसाय सञ्चालनका लागि जाने तयारीमा रहेको बताइन्। उनी विगत सात वर्षदेखि त्यहाँ होटेल व्यवसायी रही आउनु भएको छ। सिमकोट गाउँपालिका–३ की छिरिङ लामाले पनि रोजगारीका लागि ताक्लाकोट जाने जानकारी दिइन्।

यसरी चीनको ताक्लाकोटमा रोजगारीका लागि सीमा पास वितरण सुरु भएयता ९ हजारभन्दा बढी हुम्लावासी कामको अवसरका लागि पुगेका छन्।