काठमाडौँ, चैत ६ गते । काठमाडौँ महानगरपालिकाभित्र बिहीबारदेखि शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको छ। परीक्षा सञ्चालनका लागि शिक्षा विभागले ५७ वटा केन्द्र तोकेको छ। गत वर्ष ५६ परीक्षा केन्द्र कायम गरिएको थियो। अटिजम भएका वा लेखन सहयोग आवश्यक विद्यार्थीका लागि होम सेन्टरमा प्रश्न पत्र पठाएर परीक्षा लेखाउने व्यवस्था गरिएको छ।
केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत बहिरा विद्यार्थीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै सोही विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। जगन्नाथ देवल माध्यमिक विद्यालय र बंदी विकास आधारभूत विद्यालय (जेल) मा सुरक्षा संवेदनशीलताको कारण विद्यार्थीहरू बाहिर जान नपाउने भएकाले, ती विद्यालयमा पनि परीक्षा सोही विद्यालयमा सञ्चालन भइरहेको छ।
महानगरपालिकाले परीक्षा विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरूको कक्षा ८ वार्षिक परीक्षा समेत सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्नेछ। यस वर्ष ४७ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ।
परीक्षाको पहिलो दिन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, शिक्षा विभागका प्रमुख नमराज ढकाल, प्रशासन विभागका प्रमुख महेश काफ्ले लगायत शिक्षा अधिकृतहरूको टोलीले विभिन्न परीक्षा केन्द्रको अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँका अनुसार, परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको छ।
परीक्षा समितिका अध्यक्ष एवं विभागका प्रमुख ढकालका अनुसार, यस वर्ष ४९४ विद्यालयका १९ हजार ११७ विद्यार्थी परीक्षा दिइरहेका छन्। यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन्। विद्यालयको प्रकारअनुसार, २ कारागार र ७७ सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वैकल्पिक विद्यालयका ८३७ जना, ६ धार्मिक विद्यालयका ७० जना, र ३९१ संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।
गत वर्ष परीक्षा दिने विद्यार्थीको संख्या १८ हजार २९४ रहेको थियो। यसरी हेर्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन्। परीक्षा सञ्चालनका लागि प्रत्येक परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोकिएको छ।