हरिप्रसाद कोइराला
उर्लाबारी, चैत ६ गते । मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारमा तीन वर्ष अघि निर्माण सुरु गरिएको बक्राहाघाट अझै पूरा भएको छैन। तीव्र शहरीकरण र जनघनत्व बढ्दै गएपछि उर्लाबारी नगरपालिकाले तीन वर्ष अघि पाँच महिनामा निर्माण सम्पन्न गर्ने योजना सहित घाट निर्माण सुरु गरेको थियो।
उर्लाबारी–४ का स्थानीय ३५ जनाले ४ बिघा जग्गा बक्राहाघाट निर्माणका लागि उपलब्ध गराएपछि सोही स्थानमा घाट निर्माणको डिपीआर तयार गरिएको थियो। २०७४ मा नगरपालिकाले नगरको गौरवको योजना अनुसार घाट निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, जग्गा उपलब्ध नभएपछि बजेट रोकिएको थियो।
अघिल्लो नगर प्रमुख खड्गबहादुर फागोले नगरको गौरवको आयोजना भनेर प्रस्ताव गरेको यस परियोजना, गत आर्थिक वर्षको बजेटमा पनि समावेश गरिएको थियो। डिपीआर तयार भएको यो आयोजना यस वर्षको मङ्सिर ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
उर्लाबारीमा व्यवस्थित घाट नहुँदा बक्राहा खोलाको पूर्व–पश्चिम दुबै किनारमा शव जलाउने गरिएको छ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको अब्यवस्थित ठाउँमा शव जलाउँदा स्वास्थ्य, वातावरण र नदीको सौन्दर्यमा असर परेको स्थानीय लोकबहादुर कट्वालले बताउनुभयो। खोला किनारमा दैनिक २–३ वटा शवको अन्त्येष्टि हुन्छ।
नगरपालिकाले घाट निर्माणका लागि आर्थिक वर्ष ०७९/८० मा ७० लाख रुपियाँ विनियोजन गरेको थियो। ठेक्का ६३ लाख ४५ हजार ५४९ रुपियाँ ९७ पैसामा लाग्दै, २०८० असार २८ गते द्रोणिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो। मङ्सिर ३० गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि २८ महिना बितिसक्दा पनि कार्य सम्पन्न भएको छैन।
वडा नं। ४ का वडाध्यक्ष कल्याणकुमार राईका अनुसार, बक्राहा खोलाको पश्चिमतर्फ अर्को घाट निर्माण भइरहेको छ र दुबै तर्फका घाट आगामी बैशाख महिनामा सञ्चालनमा आउनेछन्। पूर्वतर्फको घाटसँगै मलामी विश्रामालय, स्नानघर, किरियापुत्री घर र शौचालय निर्माण भइसकेको छ। शवदाह स्थलको मुनि राख्ने विशेष प्रकारको ईंट बाहेक सबै काम सकिएको छ।