• ६ चैत २०८२, शुक्रबार

‘भ्रष्टाचार न्यूनीकरणमा कुनै सम्झौता हुँदैन’

blog

नौरते नेपाली

सिँजा (जुम्ला), चैत ६ गते । जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट शाहीले १४ हजार १८६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शाहीको राजनीतिक यात्रा राप्रपाबाटै सुरु भएको हो । हाल उहाँ पार्टीका प्रवक्तासमेत हुनुहुन्छ । 

देशभर राप्रपाबाट प्रतिनिधि सभामा प्रत्यक्षमा निर्वाचित हुने शाही एक्लो सांसद हुनुहुन्छ । यसअघि २०७९ मा पनि जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शाही यस पटक पुनः निर्वाचित हुँदै आफ्नो राजनीतिक पकड मजबुत बनाउन सफल हुनुभएको छ । शाही सो क्षेत्रबाट लगातार निर्वाचित हुने पहिलो नेता बन्नुभएको छ । 

२०४८ सालमा जन्मिएका शाहीले औपचारिक राजनीतिमा प्रवेश गर्नुअघि भ्रष्टाचारविरुद्ध अभियान चलाएर चर्चामा आउनुभएको थियो । सोही अभियान र आन्दोलनमार्फत उहाँ राष्ट्रियस्तरमा स्थापित हुनुभएको हो । संसद्मा प्रवेश गरेपछि पनि उहाँले विभिन्न विषयमा स्पष्ट रूपमा आफ्ना कुरा उठाउनुहुन्थ्यो, जसले उहाँ सधै चर्चामा रहनुहुन्थ्यो । 

प्रतिनिधि सभा सदस्य शाहीले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार न्यूनीकरण मेरो पहिलो प्राथमिकता हो, यसमा कुनै सम्झौता हुँदैन ।” शाहीका अनुसार सुशासन स्थापनाका लागि कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुका साथै सम्बन्धित निकायलाई जवाफदेही बनाउन आवश्यक छ । 

जिल्लास्तरमा विकासनिर्माणका कार्य प्रभावकारी रूपमा सञ्चालन भए/नभएको अनुगमन गर्ने उहाँको योजना छ । विगतमा जिल्लामा सञ्चालन भएका योजनाको प्रभावकारिता हेर्न नपाइएको उल्लेख गर्दै यस पटक प्रत्येक योजनाको सूक्ष्म अध्ययन, स्थलगत अवलोकन र प्रगति मूल्याङ्कन गरिने उहाँले बताउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट सञ्चालन भएका योजनामा पारदर्शिता कायम गराउन खबरदारी गरिने उहाँको भनाइ छ । शाहीले भ्रष्टाचार न्यूनीकरणका लागि जिल्लाका सरोकारवाला निकायसँग नियमित छलफल र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सरोकारवालाबिच समन्वय गर्दै विकासका कामलाई प्रभावकारी बनाइने उहाँको भनाइ छ । 

आर्थिक विकासतर्फ पनि आफूले विशेष ध्यान दिने शाहीले बताउनुभयो । जुम्लामा उत्पादन हुने अर्गानिक कृषि वस्तुको बजारीकरण र प्रवर्धनका लागि नीति तथा कार्यक्रममार्फत पहल गर्ने उहाँको योजना छ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । पूर्वाधार विकास अन्तर्गत कर्णाली राजमार्गको स्तरवृद्धि आफ्नो प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो । 

सडक सञ्जाल मजबुत नहुँदा कर्णाली क्षेत्रको समग्र विकासमा बाधा पुगेको भन्दै यसको सुधार आवश्यक रहेको उहाँको धारणा छ । त्यस्तै दुर्गम गाउँमा अझै पनि टेलिफोन र इन्टरनेट सेवा नपुगेको अवस्थालाई ध्यानमा राख्दै सञ्चार पहुँच विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।