• ६ चैत २०८२, शुक्रबार

रौतहटमा किसानको पहिलो प्राथमिकता मकै खेती

blog

बिक्रीपछि मकैका हरिया घोगा ट्रकमा लोड गर्दै किसान । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, चैत ६ गते ।
व्यापारीहरूले खेतबारीबाटै मकैका हरिया घोगा खरिद गर्न थालेपछि रौतहटका किसानको पहिलो प्राथमिकतामा मकै खेती परेको छ।

न बाली थन्क्याउने चटारो, न वर्षात् कारण दाना बिग्रने चिन्ता, खेतमै नगद आम्दानी हुने भएपछि जिल्लाका अधिकांश किसान मकै खेती गर्न उत्सुक छन्। विशेषगरी रौतहटको उत्तरी क्षेत्रमा व्यापकरुपमा मकै खेती गरिन्छ। चन्द्रपुर नगरपालिकाका चन्द्रनिगाहपुर, संतपुर, जुडिबेला, पौराई, गैडाटार, डुमरिया, वृन्दावनको बलेरी र गुजराको हरिनगर क्षेत्रमा किसानहरूले मकैलाई नगदे बालीको रूपमा लिने गर्छन्।

चन्द्रपुर–३ का किसान खेमनाथ हुमागाईंले भन्नुभयो, “पहिले मकै पाकेपछि खेतमा राख्दा तीन बाली लिन नसकिने हुन्थ्यो। अहिलेको सिजनमा हरिया घोगा बिक्री हुँदा पुनः मकै रोप्न मिल्छ र धानबाली लगाउन पनि समय मिल्छ। त्यसैले जिल्लाका अधिकांश किसान मकै खेतीतर्फ आकर्षित भएका छन्।”

यो सिजनमा अधिकांश किसानको खेतबारीमा मकैका घोगा लागेका छन्। आधुनिक तरिकाले हार लगाएर रोपिएको हाइब्रिड मकैको उत्पादन धेरै हुने भएकाले रौतहटका किसानले मकैलाई नगदे बालीको रूपमा लिने गरेको बलेरीका किसान जयकिशन थिङले बताउनुभयो।

किसान थिङले २३ कठ्ठा र हुमागाईंले १७ कठ्ठा जमिनमा मकै रोपेका छन्। उहाँहरूले प्रति कठ्ठा ६–७ हजार रुपैयाँ दरमा हरियो मकैका घोगा बिक्री गर्नु भएको छ। एउटै सिजनमै राम्रो आम्दानी हुने भएकाले मकै खेती प्राथमिकतामा परेको उहाँहरूले बताउनुभयो।

बारीमै मकै पकाएर दाना बनाउँदासम्म लाग्ने खर्चभन्दा हरिया घोगा बिक्रीमा बढी फाइदा हुने कृषकहरूले बताउँछन्। भूमिगत सिँचाइ व्यवस्थापन भएपछि दुई बाली मुस्किलले हुने खेतमा तीन बाली लिन सकिँदै आएको र आम्दानी पनि मनग्य हुने भएकाले मकै खेती उत्तम भएको उहाँहरूको बुझाई छ।

मकै खरिदकर्ता रमेश श्रेष्ठले ट्रकमा लोड गरेर हरियो मकैका घोगा काठमाडौं पुर्‍याएर बिक्री गर्नुहुन्छ। मकैको गुणस्तर हेरेर प्रति कठ्ठा ४–७ हजार रुपैयाँ दरमा खरिद गरिन्छ। कालिमाटी, तिनकुने र चावहिलस्थित गोदाममा पुगाएपछि त्यहाँबाट खुद्रा बिक्री हुने उहाँले बताउनुभयो।

समयमै हरिया घोगा बिक्री हुन नसके ठुलो घाटा बेहोर्नु पर्छ। यस्तो जोखिमपूर्ण व्यापारमा यस सिजन यता करिब १५०० ट्रक मकै काठमाडौं पुर्‍याइएको उहाँले जानकारी दिनुभयो।

चन्द्रपुर नगरपालिका कृषि विकास शाखाका प्राविधिक सन्दिप देवकोटाका अनुसार, “अघिल्लो तथ्याङ्क अनुसार पालिकाको करिब १०० बिघा जमिनमा मकै खेती हुन्थ्यो। आम्दानी राम्रो भएपछि किसानले हाल उक्त क्षेत्रफल दुई सय बिघाभन्दा बढी गरिसकेका छन्। आउँदो वर्ष मकै खेती अझै विस्तार हुने छ।”