• ६ चैत २०८२, शुक्रबार

सहरको झल्को दिने चौडा सडक

blog

सुनसरीको वराहक्षेत्र–७ मा निर्मित नालीसहितको सडक ।

बाबुराम कार्की 

वराहक्षेत्र, चैत ६ गते   । सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा निर्माण भएका सडकले सहरको झल्को दिन थालेको छ । ग्रामीण क्षेत्रमा सहरको झल्को दिने चौडा र डिभाइडरसहितको सडक निर्माण भएपछि स्थनीयमा खुसी भएका छन् । 

नगरक्षेत्रमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेटबाट सडक निर्माण हुन थालेपछि नगरका विभिन्न स्थानमा कालोपत्रे सडक बन्दै आएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । इटहरी र धरान उपमहानगरबाट नजिक रहेको वराहक्षेत्र नगरपालिका क्षेत्रभित्रका वडामा डिभाइडरसहितको कालोपत्रे सडक निर्माण भएपछि ग्रामीण क्षेत्रका स्थानीयले सहरी सुविधाको अनुभव गर्न थालेको स्थानीय हिरण्य कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला धुलो र हिलाम्मे सडकमा डिभाइडरसहितको कालोपत्रे सडक निर्माण भएपछि सर्वसाधारणको दैनिकीमा समेत सहज भएको छ । हेर्दै सुन्दर देखिने सडक निर्माण भएपछि बसाइँ सरेर सहर जानेको सङ्ख्या नै घट्दै गएको छ ।” 

वराहक्षेत्र–६ को मुनाल चोकदेखि महेन्द्र गेट र वडा नं. ७ को सोमबारे चोक क्षेत्रमा डिभाइडर, ड्रेनसहितको कालोपत्रे सडक निर्माण गरिएको छ । ढिकझोडादेखि बेलगाछीसम्मको बाटो नालीसहितको कालोपत्रे बनाइएको छ । वडा नम्बर–६ चव्रmघट्टी बसपार्क क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम भइरहेको छ । पछिल्ला केही वर्षदेखि नगरक्षेत्रभित्र सडकको स्तरोन्नति र सौन्दर्यीकरणले ठाउँ र स्थानको पहिचान नै बेग्लै बनाएको स्थानीयको भनाइ छ । कालोपत्रे हुन थालेपछि वराहक्षेत्र नगरपालिकाका स्थानीय सहज भएको कार्कीले बताउनुभयो । 

वराहक्षेत्र नगरपालिकामा सङ्घ र नगरपालिकाको बजेटबाट डेढ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको वराहक्षेत्र नगरपालिका योजना शाखा प्रमुख नवीन ढकालले बताउनुभयो । शाखा प्रमुख ढकालका अनुसार प्रदेश र नगरपालिकाको बजेटबाट एक हजार ७५५ मिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाको बजेटबाट साढे दुई किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको बताइएको छ । सङ्घ र नगरपालिकाको सहयोगमा ४२ मिटर कच्ची सडक र साढे पाँच किलोमिटर नालीसहितको सडक निर्माण गरिएको योजना शाखाका प्रमुख ढकालले बताउनुभयो ।