• ६ चैत २०८२, शुक्रबार

रोकियो रिङरोडको निर्माण कार्य

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत ६ गते । जिल्ला सदरमुकाम सिमकोट बजारका लागि सुरु भएको रिङरोडको निर्माण कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय जग्गाधनीको विरोधका कारण सुरु भएको रिङरोड निर्माण रोकिएको हो । 

सिमकोटको तल्लो बजार क्षेत्रको विमानस्थलको दक्षिणी क्षेत्रबाट निर्माण कार्य सुरु भई खेल मैदान क्षेत्रसम्म अगाडि बढेको काम सिमसार क्षेत्रमा पुगेपछि स्थानीय जग्गाधनीको विरोधका कारण काम रोकिएको निर्माण व्यवसायी सुनाम लामाले बताउनुभयो । 

सो क्षेत्रको चार सय मिटर क्षेत्रमा रिङरोड निर्माण कार्य भइरहेको थियो । सिमसार क्षेत्रबाट रानीवनसम्मको पाँच सय मिटर क्षेत्रमा जेसिबी लगाएर सडक निर्माण सुरु गर्दा स्थानीय जग्गाधनीले विरोध गरेपछि निर्माण कार्य रोकिएको जानकारी उहाँले दिनुभयो । सिमसार क्षेत्र भएको स्थानसम्म भने स्थानीय सडक निर्माणका लागि केही लचक देखिएका छन् । 

सिमसार क्षेत्रदेखि रानीवनसम्मका पूरै जग्गा जाने जग्गाधनी भने आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नहुँदासम्म काम अगाडि बढाउन नदिने पक्षमा रहेको जग्गाधनी जयलक्ष्मी बोहोराले बताउनुभयो । जग्गाको क्षतिपूर्ति पाए मात्र कार्य अगाडि बढाउन दिने उहाँले बताउनुभयो । सो क्षेत्रको रिङरोड निर्माण गर्दा ३० भन्दा बढी स्थानीयको जग्गा जाने छ । 

विवाद भएर निर्माण रोकिएपछि जग्गाधनीलाई बसालेर छलफल चलाउने सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताउनुभयो । 

सिमकोट रिङरोडको यसअघि मानसरोवर नमुना माध्यामिक विद्यालयदेखि चौखे ढुङ्गासम्मको सात सय मिटर सडक भने निर्माण भइसकेको छ । त्यसै गरी सिमकोट गाउँपालिका–५ को मेलगुडीबाट धुपीरुखसम्मको एक किलोमिटर सडक पनि निर्माण भइसकेको छ । यी खण्डमा हाल यातायातका साधन सञ्चालनमा रहेका छन् ।