जनार्जन खत्री
सर्लाही, चैत ७ गते । सर्लाहीसहित मधेश प्रदेशमा पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र हावाहुरीसहित वर्षा भएको छ ।
यहाँ हावाहुरी र मेघगर्जनसहित गएको कात्तिकपछि बल्ल पानी परेको हो । यसअघि गएको सोमबार पनि मधेशका विभिन्न ठाउँमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।
एक हप्तामै दुई पटक तीव्र गतिको हावाहुरी आउँदा भर्खरै घोगा लागेको हाइब्रिड मकै खेतीमा भने व्यापक क्षति गरेको किसानले बताएका छन् । आम्दानी राम्रो हुने मकै खेतीमा किसानले बीउबिजन, किटनाशक औषधी, जन, मल र मेहनत खर्चिएका हुन्छन् ।
लालबन्दी नगरपालिका–४, हरिभवनका केदार कार्कीले यसै वर्ष जताततै मकै खेती बढेको बेला हप्ता दिनमै दुई पटक ठुलो हावाहुरी चलेर मकैका बोट सोत्राम पारेको गुनासो गर्नुभयो । शुक्रबार साँझको हावाहुरीले सर्लाहीको उत्तरवर्ती कर्मैया, हरिवन, लालबन्दी, जब्दी, हरिभवन, हरिपुर, जियाजोर, रानिगन्ज, परवानिपुर, घारिबथानलगायत क्षेत्रका किसानले लगाएको मकैमा बढी क्षति गरेको छ ।
बागमती नगरपालिका–३, जिरायतका नवराज अधिकारीले आफूहरुको क्षेत्रमा गएको सोमबारको तुलनामा शुक्रबार बेलुकाको हावाहुरीले कम क्षति गरेको बताउनुभयो । हावाहुरीसहित असिनासमेत पर्ने हो की भन्ने चिन्तामा किसान रहेका थिए ।
चुरेवर्ती केही भागमा असिना परे पनि व्यावसायिक रुपमा मकै खेती हुने क्षेत्रमा असिना नपरेको किसानले बताएका छन् । बरहथवा नगरपालिका–१, हजरियाका किसान रत्नबहादुर गिरीले असिना नपरेकाले मकै जोगिएको बताउनुभयो ।
हावाहुरीले कतैकतै मकै ढालेपनि ठुलो क्षति गर्न नपाएको गिरीको भनाइ छ । हावाहुरीले आँप र लिचीका फूल तथा चिचिला झारिदिएको छ ।
अहिले परेको पानीले अन्य बालीनालीहरुलाई भने फाइदा नै गरेको बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान रामकरण महतोले जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका विभिन्न स्थानमा कच्ची घरहरुमा सामान्य क्षति गरेको स्थानीयले बताएका छन् ।
वर्षाले जिल्लामा काँचो इँटाहरुमा क्षति गरेको भट्टा सञ्चालकहरुले बताएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको इँटा व्यवसायी सङ्घले जनाएको छ ।
हावाहुरी र चट्याङले गर्दा शुक्रबार साँझ अवरुद्ध भएको बिजुली सबैजसो ठाउँमा रातिदेखि नै सुचारु भइसकेको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, बरहथवा र मलङ्गवा वितरण केन्द्रले जनाएका छन् । पोल ढलेको र तार चुँडिएर अवरुद्ध रहेको क्षेत्रमा बिजुली सुचारु गर्न शनिबार बिहानैदेखि फेरि प्राविधिकहरु परिचालन भइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले हावाहुरीबाट जिल्लामा कहिँकतै कुनै प्रकारको क्षति भएको भनी अहिले बिहानसम्म सूचना नआएको बताउनुभयो ।
सर्लाहीमा पुनः पानी पर्ला जस्तो भइ शनिबार पनि बिहानैदेखि मौसम धुम्मिएको छ । यहाँ शुक्रबार राति मध्यरातसम्म नै मेघगर्जन भएको थियो ।