हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ७ गते । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।
हिमपात लगत्तै उपल्लो मुस्ताङमा विद्युत आपुर्ति अवरुद्ध तथा सडक सञ्जालमै बाक्लो हिउँका कारण घुम्न गएका पर्यटक तथा तिर्थालु प्रभावित भए पनि शनिबार मौसममा सुधार आएसँगै क्रमशः स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।
हिमपात रोकिएपछि मौसममा आएको सुधारले बेनी–जोमसोम–कोरला सडक, कागबेनी–मुक्तिनाथ सडकमा साना, ठुला सवारीसाधन सहज रुपमा आवत–जावत गरिरहेको सूचना अधिकारी बस्यालको भनाइ छ ।
मुस्ताङबाट बाहिरिने र भित्रिने सवारी साधनलाई सडकमा कुनै समस्या छैन भने तापक्रममा समेत सुधार भएकाले पर्यटक र तिर्थालुले समेत राहत महशुस गरेका छन् । मुस्ताङमा यो सिजनको छैठौ पटकको हिमपातले विभिन्न रोगको प्रकोप समेत न्यूनीकरणमा समेत सघाएको भन्दै कृषक समेत उत्साहित छन् ।
फागुन, चैत्र महिनामा हुने हिमपात र बर्षाले एक बाली हुने उपल्लो क्षेत्र र पर्याप्त सिँचाइको अभावका कारण नियमित उत्पादनमा ह्रास आउने अवस्थामा समग्र जिल्लाभर उत्पादन बृद्धि हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।
बर्षा र हिमपातले कृषि, पशुपालन तथा वातावरणीय दृष्टिकोणले समेत मुस्ताङलाई सहज भएको स्थानीयको बुझाइ छ । चरन क्षेत्रमा घाँस पलाउने, आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ, निरमसी, जटामसी लगायतका जडिबुटी राम्रो हुने अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।
पाँच बर्षदेखि हिमपात नहुँदा चरन क्षेत्रमा आहारा प्रजातिका बन्यजन्तुलाई समेत असर गरेको अवस्थामा यस पटक गर्मी मौसममा परेको हिमपातले चरन र जडिबुटीको उत्पादनलाई समेत राहत मिलेको प्रमुख पौडेलको भनाइ छ ।