शंकर केसी
सल्यान, चैत ७ गते । बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शसुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्स र चालकमाथि आक्रमण भएको हो ।
सुर्खेत रामघाट स्थित छिन्चु नजिक शुक्रबार राति करिब १० बजेतिर कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्समाथी आक्रमण भएको जनाइएको छ । ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको चालक वसन्त शर्माले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्समा एक बिरामी र एक जना कुरुवा हुनुहुन्थ्यो ।
आक्रमण गर्ने समूहले एम्बुलेन्स चालक वसन्तलाई गाडीबाट तानेर कुटपिट गरेका थिए । ज्यानको जोखिम भएपछि चालक भागेर जोगिन सफल भएको र चालक भागेपछि उनीहरूले एम्बुलेन्समा तोडफोड गरेका थिए ।
चालकका अनुसार उक्त समुहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासी हातपात सुरु गरेका थिए। घटनापछि चालक वसन्तले प्रहरीलाई जानकारी गराउनुभएको थियो । प्रहरी करिब आधा घण्टापछि घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म आक्रमण गर्ने व्यक्तिहरू फरार भइसकेका थिए ।
तोडफोड भएकै अवस्थामा एम्बुलेन्सले बिरामीलाई लिएर नेपालगञ्ज पुग्न सफल भएको चालक वसन्तले बताउनुभयो । बिरामीको सेवाका लागि रातदिन खटिने एम्बुलेन्स र चालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद घटना भएको भन्दै उहाँले दोषी पत्ता लगाएर कडा कारबाहीको माग गर्नुभएको छ ।