• ७ चैत २०८२, शनिबार

कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा

blog

कालीगण्डकी किनारमा अवस्थित मुक्तिनाथ क्षेत्र हिन्दु धर्मको प्रमुख तीर्थस्थल हो । यस स्थललाई ‘मोक्ष क्षेत्र’ भनिन्छ । मुक्तिनाथमा स्नान गरी दर्शन गरेमा जन्म–मरणको चक्रबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहिआएको छ ।

नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उचाइमा पर्दछ । यो क्षेत्र नेपाल र तिब्बतको सिमानामा छ । स्थानीयस्तरमा सुरुवातीको धारालाई छुमाखोला भन्ने गरेको पाइन्छ । यो धारा, हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण मानिने दामोदरकुण्डसँगै रहेको छ । त्यसपछि कालीगण्डकी ल्होमन्थाङ क्षेत्रमा झरेको छ । ल्होमन्थाङ क्षेत्रमा नझर्दै यसको नाम, निछुखोला वा छोरोउखोला पनि भन्ने गरेको पाइन्छ । ल्होमन्थाङमा झरेपछि कालीगण्डकी दक्षिण पश्चिममा बग्छ । त्यस स्थानमा यो खोलालाई मुस्ताङखोला पनि भन्ने गरेको पाइन्छ । मुक्तिनाथ क्षेत्रमा आएपछि कालीगण्डकीमा झोङ्गखोला, काकखोला वा कृष्णा नदीको नामका  प्रमुख सहायक नदी कालीगण्डकीमा मिसिन्छन् ।

त्यसपछि नदी कालीगण्डकी घाटी वा अन्धा गल्छी भनिने पहाडको र धवलागिरि पहाडको (आठ हजार १६७ मिटर उचाइ) पश्चिममा र अन्नपूर्णा १, (आठ हजार ९१ मिटर उचाइ) पूर्वमा हुँदै दक्षिणतिर बग्दछ । यही घाटी नै संसारको गहिरो गल्छी हो । यो गल्छी दुई हजार ५२० मिटर गहिरो छ । 

कालीगण्डकी नदी तत्पश्चात् गहिरो गल्छी हुँदै दक्षिणतिर लाग्छ । यो नदी गलेश्वरको राहुघाटखोला, बेनीको म्याग्दी खोला, कुस्मानजिकैको मोदीखोला र रिडी बजारमाथि रुद्रवेणीमा बडीगाडसँग मिल्छ । 

तत्पश्चात् नदी महाभारत क्षेत्रको उत्तरी किनारबाट  बग्न थाल्छ । दक्षिणतर्फ फर्किंदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी त्यसपछि देवघाटसम्म पुग्दै प्रमुख सहायक नदी, त्रिशूली, पूर्वी राप्ती नदीसँग मिलेर नारायणी हुँदै अघि बढ्छ । देवघाटबाट नदी गैँडाकोट सहरको दक्षिणपश्चिममा बग्दछ । पछि यो नदी दक्षिण पूर्वतर्फ फर्कन्छ र भारतमा प्रवेश गर्दा यसलाई गण्डक भनिन्छ ।

यसरी नारायणीसम्म आइपुग्दा कालीगण्डकीको कुल लम्बाइ ३१६ किमी छ । त्यसमै नारायणी हुँदै गर्दा यसको कुल लम्बाइ ८१४ किलोमिटर हुन्छ । यस्तै यसको कुल जलाधार क्षेत्र चाहिँ त्रिचालिस हजार वर्ग किलोमिटर छ । कालीगण्डकी नदी हिमालय क्षेत्रबाट सुरु भई बहने हुनाले यसको बहाव औसतमा समान प्रकृतिको हुन्छ । यसको औसत पानीको मात्रा एक हजार ७६० घनमिटर प्रतिसेकेन्ड मापन गरिएको छ ।

हिन्दु धर्ममा कालीगण्डकी

हिन्दु पुराणमध्ये देवी भगवतीको महातत्म्यका बारेमा लेखिएको ‘देवी भागवत’ पुराणमा कालीगण्डकीमा मात्रै पाउने शालिग्रामबारेमा एउटा कथा उल्लेख गरिएको छ । पुराणमा धर्मदेवजा नामक राजाको वर्णन छ जो सुरुमा देवी लक्ष्मीका भक्त थिए र पछि उनको प्रतिद्वन्द्वी भए । लक्ष्मीलाई धर्मदेवजाले धेरै दुःख दिने कोसिस गरे । उनका छोरा पद्मद्वाजले आफ्नो बुवाको गल्ती महसुस गरे र लक्ष्मीको भक्त भए । उनको भक्तिबाट प्रसन्न भई लक्ष्मी आफैँले तुलसीका रूपमा अवतार लिइन् । पछि तुलसी भगवान् कृष्णको प्रेममा डुब्न पुगे । तिनीहरूले आफ्नो बन्धन अमर गर्न विवाह गरे । भगवान् कृष्णले आफूलाई सालावर्ग (शालिग्राम) र तुलसीलाई गण्डकी (कालीगण्डकी) नदीका रूपमा रूपान्तरित भए । आज पनि सालवर्ग (शालिग्राम) केवल कालीगण्डकी नदीमा फेला पार्न सकिन्छ ।

यसै गरी श्रीस्वस्थानी व्रतकथामा वर्णन गरे अनुसार जालन्धरको श्रापबाट विष्णु भगवान् ढुङ्गाका रूपमा शालिग्राम भएर रहेका हुन् । 

कालीगण्डकी नदीमा पाइने शालिग्राम शिला नेपाली तथा सम्पूर्ण हिन्दु समाजमा अत्यन्त पवित्र र महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा मानिन्छ । शालिग्राम शिला प्राकृतिक रूपमा बनेको कालो ढुङ्गो हो, जुन कालीगण्डकी नदीको किनार तथा नदीभित्र विशेष गरी मुस्ताङ, कागबेनी, जोमसोम र सेतबेनी क्षेत्रमा पाइन्छ । वैज्ञानिक रूपमा यी शिला प्राचीन समुद्री जीव अमोनाइटका जीवाश्म भए पनि धार्मिक दृष्टिले यसलाई भगवान् विष्णुको प्रत्यक्ष तथा सजीव स्वरूप मानिन्छ । हिन्दु धर्मग्रन्थ– जस्तै विष्णु पुराण, स्कन्द पुराण र पद्म पुराण अनुसार शालिग्राम शिलामा भगवान् विष्णु र माता लक्ष्मीको बास हुन्छ भन्ने विश्वास रहिआएको छ । त्यसैले यसलाई घरमा स्थापना गर्दा मूर्ति जस्तो प्राणप्रतिष्ठा गर्न नपर्ने र सिधै पूजा गर्न मिल्ने विशेषता रहेको मानिन्छ । शालिग्राम शिलाको पूजा, दर्शन र स्पर्शले पाप नाश हुने, मनोकामना पूरा हुने र अन्ततः मोक्ष प्राप्त हुने धार्मिक आस्था छ । जसका कारण एकादशी व्रत, सत्यनारायण पूजा, श्राद्ध, तर्पण, पितृकार्य, विवाह तथा अन्य वैदिक कर्मकाण्डमा यसको प्रयोग अनिवार्य जस्तै मानिन्छ । कालीगण्डकी नदीलाई ‘नारायण नदी’ भनेर पनि चिनिन्छ किनकि विश्वमै प्राकृतिक रूपमा शालिग्राम शिला पाइने एक मात्र नदी यही हो भन्ने विश्वासले यस नदीको धार्मिक गरिमा अझ उच्च बनाएको छ । सांस्कृतिक दृष्टिले हेर्दा शालिग्राम शिला नेपाली समाजमा पुस्तौँदेखि चलिआएको वैष्णव परम्पराको मूल आधार हो, जहाँ ब्राह्मण, क्षेत्री तथा वैष्णव समुदायका घर घरमा नियमित रूपमा शालिग्राम पूजा गरिन्छ । यसलाई घरमा राख्दा शान्ति, समृद्धि, पारिवारिक एकता र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । नेपाली चाडपर्व जस्तै हरिशयनी र हरिबोधिनी एकादशी, तिज, जनैपूर्णिमा तथा विभिन्न धार्मिक अनुष्ठानमा शालिग्राम शिलाको विशेष महत्व रहँदै आएको छ । जसले नेपाली संस्कृति र धार्मिक जीवनलाई अझ गहिरो रूपमा जोडेको देखाउँछ । साथै शालिग्राम शिला केवल पूजाको वस्तु मात्र नभई नेपाली धार्मिक पहिचान र सांस्कृतिक सम्पदाको प्रतीक पनि हो । जसले मानिसलाई आस्था, नैतिकता र आध्यात्मिक अनुशासनतर्फ प्रेरित गर्छ । 

आजको सन्दर्भमा शालिग्राम शिलाको अवैध व्यापार र प्राकृतिक दोहनका कारण यस धरोहरमाथि चुनौती बढ्दै गएकाले यसको संरक्षण, सम्मान र सही धार्मिक प्रयोग गर्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी बनेको छ किनकि कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलाले धार्मिक विश्वास, सांस्कृतिक परम्परा र आध्यात्मिक चेतनालाई एकै सूत्रमा बाँधेर नेपाली समाजलाई समृद्ध बनाउँदै आएको छ ।

कालीगण्डकी नदी हिन्दु धर्ममा अत्यन्तै पवित्र र आस्थाको केन्द्र मानिने नदी हो । नेपालको हिमाली क्षेत्रदेखि तराईसम्म बग्ने यस नदीले केवल भौगोलिक रूपमा मात्र होइन, धार्मिक, सांस्कृतिक र आध्यात्मिक रूपमा पनि हिन्दु सभ्यतालाई गहिरो प्रभाव पारेको छ । कालीगण्डकीलाई पापनाशिनी, मोक्षदायिनी र विष्णु नदीका रूपमा पूजा गरिन्छ । यस नदीको किनारमा रहेका धार्मिक स्थल हिन्दु धर्मका महìवपूर्ण तीर्थका रूपमा स्थापित छन्, जसले हजारौँ वर्षदेखि भक्तजनको आस्था जोगाउँदै आएका छन् ।

हिन्दु धर्मशास्त्र अनुसार कालीगण्डकी नदी भगवान् विष्णुसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । यस नदीमा पाइने शालिग्राम शिलालाई विष्णुको साक्षात् रूप मानिन्छ । शालिग्राम पूजाबिना वैष्णव परम्पराका धेरै धार्मिक कर्म अधुरा मानिन्छन । विवाह, व्रतबन्ध, श्राद्ध, एकादशी, सत्यनारायण पूजा जस्ता अनुष्ठानमा शालिग्रामको अनिवार्य उपस्थिति हुन्छ । कालीगण्डकी नै शालिग्राम प्राप्त हुने एक मात्र पवित्र नदी भएकाले यस नदीको धार्मिक महìव अन्य नदीभन्दा विशिष्ट रहेको छ ।

कालीगण्डकी किनारमा अवस्थित मुक्तिनाथ क्षेत्र हिन्दु धर्मको प्रमुख तीर्थस्थल हो । यस स्थललाई ‘मोक्ष क्षेत्र’ भनिन्छ । मुक्तिनाथमा स्नान गरी दर्शन गरेमा जन्म–मरणको चक्रबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहिआएको छ । यहाँ अवस्थित १०८ धाराबाट बग्ने पानी र प्राकृतिक रूपमा बल्ने अग्नि (ज्वालामाई) ले हिन्दु दर्शनमा पञ्चतìवको सन्तुलनलाई प्रतिनिधित्व गर्छ । त्यसैले मुक्तिनाथ केवल धार्मिक स्थल मात्र नभई दार्शनिक दृष्टिले पनि अत्यन्त महìवपूर्ण मानिन्छ ।

मुक्तिनाथ क्षेत्रबाट बग्ने कालीगण्डकी किनारमा कागबेनी अर्को  प्रमुख धार्मिक स्थल हो । कागबेनीलाई पितृ तर्पण र श्राद्धका लागि विशेष मानिन्छ । धार्मिक विश्वास अनुसार यहाँ श्राद्ध गरेमा पितृहरूको आत्माले शान्ति पाउँछ । कागबेनीलाई गङ्गा र कालीगण्डकीको सङ्गमस्थलका रूपमा पनि लिइन्छ, जसले यसको धार्मिक महìव अझ बढाएको छ । यहाँ प्रत्येक वर्ष पितृपक्ष र विशेष पर्वमा भक्तजनको ठुलो भिड लाग्ने गर्छ ।

कालीगण्डकी किनारकै सेतीवेणी, रुद्रवेणी र राम्दी क्षेत्र पनि हिन्दु धर्मका महत्वपूर्ण तीर्थस्थल हुन । सेतीवेणीलाई भगवान् विष्णु, शिव र ब्रह्माको सङ्गमस्थल मानिन्छ । यहाँ स्नान, पूजा र दान गरेमा ठुलो पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । रुद्रवेणी क्षेत्र शिवभक्तका लागि विशेष महìव राख्छ, जहाँ शिवलिङ्ग स्थापना गरी पूजा गरिन्छ । राम्दी क्षेत्रलाई ‘नेपालको हरिद्वार’ पनि भनिन्छ, जहाँ माघेसङ्व्रmान्तिलगायतका पर्वमा हजारौँ श्रद्धालु स्नान गर्न आउने गर्छन् ।

कालीगण्डकी किनारका यी धार्मिक स्थलमा सम्पन्न हुने संस्कार र अनुष्ठानले हिन्दु समाजको धार्मिक निरन्तरता कायम राखेको छ । अस्थि विसर्जन, पिण्डदान, तर्पण, व्रत उपवास, जप–तप जस्ता क्रियाकलापले मानिसलाई आध्यात्मिक शुद्धतासँग जोड्छन । नदीलाई मातास्वरूप मानेर पूजा गर्ने परम्पराले प्रकृतिप्रति सम्मान र संरक्षणको भावना पनि विकास गरेको छ ।

हिन्दु धर्ममा नदी र धार्मिक स्थल केवल पूजाको माध्यम मात्र नभई सामाजिक एकताको केन्द्र पनि हुन् । कालीगण्डकी किनारमा लाग्ने मेला, पर्व र धार्मिक यात्राले विभिन्न जाति, वर्ग र क्षेत्रका मानिसलाई एकै ठाउँमा ल्याउँछ । यसले सामाजिक सद्भाव, सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुतालाई प्रवर्धन गरेको छ ।

यसबाहेक कालीगण्डकी नदीको सुरुवातदेखि भारतसम्म मिल्ने क्रममा हिन्दु ऋषिमुनिको पवित्र तपोभूमि रहेका छन् । दामोदरकुण्डदेखि मुक्तिनाथ, गलेश्वरधाम, बागलुङ कालिका, मोदीवेनीधाम, जैमुनीघाट, बेलबगर, रुद्रवेणी हुँदै देवघाटसम्म आइपुग्दा दर्जनौँ ऋषिमुनिको तपस्या स्थल रहेका छन् । यसै गरी यही जलाधार क्षेत्रभित्र नै रहेर वेदव्यासले चार वेद लेखेको भन्ने धार्मिक विश्वास छ । कालीगण्डकी क्षेत्र कैलाश क्षेत्रसम्म पुग्ने छोटो बाटो पनि हो ।

विभिन्न हिन्दु धार्मिक धर्मग्रन्थमा वर्णन गरिए अनुसार कालीगण्डकीमा स्नान मात्रले पनि कयौँ पापबाट मुक्त हुने विश्वास व्यक्त गरिएको छ । हिन्दु धर्म र सभ्यता अनुसार कुनै न कुनै रूपमा हिन्दु सभ्यताको सुरुवात यही कालीगण्डकी किनारमा विकास भएका बस्ती, धार्मिक स्थल, मठमन्दिर तथा स्नान गर्ने घाटमार्फत भएको देखिन्छ ।

बौद्ध विश्वास  

बौद्धमार्गीका लागि एक पवित्र स्थान हो, जसले यसलाई ‘चुमीग ज्ञानात्’ भनेर चिनिन्छ, जसको तिब्बती अर्थ ‘सयौँ पानी’ हो । हिन्दुहरूले यस ठाउँलाई मुक्तिनाथ र मुक्तिक्षेत्र भनेका छन्, जसको शाब्दिक अर्थ ‘मुक्तिको ठाउँ’ हो ।

इसापूर्व दोस्रो शताब्दीमा लुम्बिनीदेखि लोमाङ हुँदै चीनसम्म बुद्ध दर्शनले प्रवेश पाएको तथ्य फेला परेका छन् । नेपालमा बुद्धदर्शनको विकास भएको छ भन्ने सुन्ने पहिलो चाइनिज चाङ् चिङ् थिए । हान वंशका सम्राट् मिङ् तिले सन् ६८ मा बुद्धबारे सपना देखे र बुझ्न उनका एक कर्मचारी काय युङ्लाई दक्षिण एसियातिर पठाए । उनी तीन वर्षपछि आफूले फेला पारेको तथ्य तथ्याङ्क बुद्धका प्रतिमासहित दुई जना बुद्धिस्ट स मो यङ् र छ फा लानलाई साथमा लिएर गए । उनीहरूले मिङ्दीको दरबारमा बसेर बुद्धदर्शनको प्रचार गरे । ती दुवै व्यक्ति नेपाली बौद्धिस्ट हुनु पर्छ । मुस्ताङ बुद्ध गुम्बाको महìवपूर्ण प्राचीन ऐतिहासिक स्थल हो । पुरातात्त्विक वस्तुको खोजी हुँदै छ । आज संसारको ध्यान मुस्ताङमा केन्द्रित हुँदै गएको छ । बुद्ध मत लिएर पहिलो पटक चीन जाने दुई बौद्ध भिक्षु मुस्ताङ्गी हुनु पर्छ । तिब्बतदेखि मुस्ताङ हुँदै लुम्बिनीसम्मको सजिलो बाटो कालीको किनारबाहेक अरू सम्भव थिएन ।   

लेखक बाट थप