काठमाडौँ, चैत ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले विदेशमा रहेका नेपालीले ब्रेन–गेनमा योगदान पुर्याउन सक्ने बताउनुभएको छ । नेपालमा पछिल्लो समय स्थीर सरकार निर्माण हुन लागेको भन्नुहुँदै उहाँले आर्थिक विकासका लागि गैरआवासीय नेपालीको लगानी भित्र्याउन समेत एनआरएनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एनआरएनले नेपालमा लगानी आकर्षित गर्न खेल्न सक्ने भूमिका भनेको नेपाल सरकारसँग कोअर्डिनेट गरेर यदि नेपाल सरकारले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको सामाजिक, आर्थिक अधिकार दिनलाई एनआरएनको एक्टलाई परिमार्जन गर्न सकेको खण्डमा संसारभरी रहेका नेपालीलाई हामी इन्भेस्ट गराउन सक्छौँ । अहिले विदेशमा हामीले के देखिरहेका छौँ भने ८, १० जना ठुला उद्यमी, ठुला व्यवसायीको मात्र लगानी भएको देखेका छौँ ।”
उहाँले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रोत्साहित गर्न नसकेको भन्नुहुँदै अनुभवी एवम् विज्ञको सीप, ज्ञान र दक्षता आदनप्रदान एवम् सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पनि कन्सेप्ट के छ भने ‘ब्रेन ड्रेन’ लाई कसरी रोक्ने ? ‘ब्रेन ड्रेन’ भर्सेस ब्रेन गेन भन्छौं । हामीले विदेशमा रहेका आज पनि हामीले डिसकसनको विषय बनाएका थियौं, विदेशमा रहेका नेपालीहरू जो चाहिँ विभिन्न सेक्टरमा युनिभर्सिटीमा प्रोफेसर हुनुहुन्छ, आ–आफ्नो सेक्टरमा काम गरिरहनुभएको छ, उहाँहरूलाई हामीले मोटिभेट गर्न सकिँरहेका छैनौं ।”
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । गोरखापत्र अनलाइनका लागि एनआरएनका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया) सँग गोरखापत्र अनलाइनका लागि सपना थामी र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो अन्तवार्ता :
नयाँ नेतृत्वले विगतका कमजोरी सुधार गर्न के–कस्ता ठोस योजना ल्याउन सक्छ ?
गैर आवासीय नेपाली सङ्घमा नयाँ नेतृत्वले चाहिँ विगतमा काम गर्ने क्रममा भएका गल्ती कमजोरी सबैको आ–आफ्नो ठाउँबाट केही कमजोरी छ भन्ने महसुस गरेरै यसपाली एकताको अधिवेशन गरिएको छ । आगामी दिनमा यस्ता गल्ती कमजोरीहरू नदोहोरियोस् भन्न्लाई सबैले आत्मआलोचना गर्नुपर्छ । जस्तै निर्वाचन भनेको हार र जीत एउटा प्रक्रिया हो । हार्नेले पनि जित्नेलाई बधाई दिन सक्नुपर्छ र जित्नेले पनि हार्नेलाई तपाई हार्नुभएको होइन, उपविजेता हुनुभएको हो भनेर हामीले वातावरण सिर्जना गर्नुपर्छ । एनआरएनले गर्नुपर्ने योजनाहरूमा अहिले के देखिन्छ भने डेडिकेस प्रणालीमा अलिकति समस्या देखिएको छ । हामीसँग लिमिटेड डेलिगेस आउने प्रणाली भएका कारण जहिले पनि निर्वाचनका बेलामा यो डेलिगेस मेरो हो कि, उसको हो भन्ने हस्तक्षेप एनसिसी लेबलबाटै आइसिसी लेबलसम्मै त्यो आयो । त्यसको कारण विगत चार वर्षदेखि एनआरनमा विभाजन पनि हुन पुगेको छ । यद्दपि, त्यतिखेरको त्यो सिस्टमबाट आएको प्रक्रियालाई मान्नुपर्छ भन्ने लाग्छ पनि । विकसित देशमा बसेका मानिसले आफ्ना आचरण चाहिँ सुधार गर्नुपर्छ । हामीले देशमा राजनीतिक विकृति भयो भन्दै गर्दा हामी आफूले पनि विकृति ल्याउनुहुन्न । हामीले राम्रो काम गरेर देखाउनुपर्छ । भविष्यमा यसलाई सुधार गर्दै सबैले आत्मआलोचना गर्नुपर्छ । सँगसँगै संस्थाले चाहिँ के धारणा ल्याएको छ यो डेडिकेस प्रणाली चाहिँ सिस्टमबाट ल्याउँदै गर्दा सधैं विवाद हुन्छ भनेर यसपाली हामीले ठोस निर्णय के गर्यौं भने पञ्जीकृत सदस्यबाट नेतृत्व चयन गर्ने । सम्पुर्ण एनसिसीमा भएका पञ्जीकृत सदस्यलाई भोट हाल्ने राइट् दिने सिस्टम गर्यौं । त्यसले नीतिगत रूपमा संस्थामा सुधार ल्याउछ भन्ने मैले विश्वास लिएको छु ।
एनआरएनएभित्र देखिने आन्तरिक विवाद समाधान गर्न के रणनीति अपनाउनुपर्छ ?
आन्तरिक विवाद भनेको ठुलो चाहिँ केही पनि छैन । यो नेतृत्व मैले गर्न पाएँ, पाइनँ भन्ने नै आन्तरिक विवाद हामीले देखेका छौं यहाँ । त्यही भएर अहिले हामीले के महसुस गर्यौं भने हामीले जितेर आउँदा नै काम गर्न पाएनौं । केही साथीले समानान्तर समिति खोलेर जानुभयो । जसमा राजनीतिक दलको त्यहाँ इन्भल्भमेन्ट देख्यौं । त्यो हुनु हुँदैनथ्यो त्यो दुखको कुरा हो । हामीले विदेशमा भएका नेपाली राजनीतिक दलमा जाने भनेको देशको समृद्धिका लागि कुरा गर्न जाने हो । देशको पोलिसी मेकिङमा कुरा गर्न जाने हो । यो होइन कि नेतृत्व हामीलाई बनाउनुपर्छ । हामी भएनौं भने मन्त्रालयले हस्तक्षेप गर्नुपर्छ भन्ने जुन प्रक्रिया आयो, त्यो गलत हो । त्यो परिवर्तन हुनुपर्छ भन्ने लाग्छ मलाई ।
विदेशमा रहेका नेपालीको हकहित संरक्षणमा एनआरएनएको भूमिका कत्तिको प्रभावकारी छ ?
यो एकदमै महत्त्वपूर्ण कुरा हो । विदेशमा रहेका नेपालीको हक, हितका कुरामा हामीले २००३ देखि आवाज उठाइरहन्छौं । ती हक, हितका कुरा अहिले पूर्णरूपमा लागु हुनै सकिरहेकै छैन । किनभने, संस्था आफैं दर्ता हुनलाई पनि २००३ मा स्थापना भएको संस्था दर्ता हुन पनि १२, १५ वर्ष लाग्यो । त्यसको पछाडि दुई, तीन कार्यकाल गर्दै गर्दाखेरी फेरि विवाद हुन लाग्यो । विदेशमा रहेका नेपालीको थुप्रे किसिमका समस्या छ । मध्यपूर्वमा भएका राष्ट्रहरूको आफ्नै किसिमको समस्या छ भने अस्ट्रेलिया, अमेरिका, युके जस्ता डेभलप कन्ट्रीमा गएर बसेका नेपालीको अर्को समस्या छ । त्यसैगरी, अर्को पिल अफ नेपलिज ओरिजिन भन्छ बर्मामा, थाइल्यान्डमा, दुई सय वर्ष अगाडिदेखि गएर नेपालीको पहिचान छैन । हामीले अहिले मुख्य ध्यान दिनुपर्ने कुरा भनेको नेपालीलाई नेपाली भएर बस्न पाउने अधिकार भनेको मतलब नागरिकताको अधिकार । अहिले हामीलाई राजनीतिक अधिकार बाहेकको आर्थिक सामाजिक अधिकार दिइने भनेर संविधानमा लेखिएको छ । तर, त्यो अधिकार हामीले पूर्णरूपमा प्राप्त गरेका छैनौं । जसले गर्दाखेरी एनआरएनमा लागेका मानिसहरू, संसारमा भएका लगभग दुई, तीन करोड नेपालीहरू अहिले यो अधिकारबाट वञ्चित हुँदै गर्दा भोलि नेपाली भएर बाँच्न नपाउने हुन सक्छ । अहिले के भनेको छ भने तीन पुस्तालाई मात्र दिने भनेको छ । अहिले बर्मा, थाइल्यान्डमा पिओएन भन्छ, पिपल अफ नेप्लिज्हरू दुई सय वर्ष अगाडिदेखि छ । उनीहरूले के खोजिरहेको छ भने हामीलाई नेपाल आउँदा एउटा पहिचान दिइयोस् । परिचयपत्र दिइयोस् भन्दा त्यो पनि दिइएको छैन । भोलि हाम्रा नाति पुस्तामा पुग्दा हाम्रा नाति पुस्ता पनि पिएनओ बन्ने वाला छन् । त्यसैले पहिलो अधिकार भनेको एक पल्टको नेपाली सधैंको नेपाली हुनुपर्छ भन्नका लागि हामीले पहल गरिरहेका छौं । यसलाई ठोस निष्कर्षमा पुर्याउनुपर्छ । तयसपछि अरू पनि एनआरएनका एजेन्डाहरू छन् । आर्थि कलगानी भित्र्याउने, सामाजिक सुरक्षाका कुराहरू छन्, ती विभिन्न एनआरएनका जुन एजेन्डा छन्, मिसन छन् ती कुराहरू पूरा गर्नतिर हामी लाग्नुपर्छ ।नेपाल सरकार र एनआरएन हातेमालो गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
हाम्रो अधिकार भनेको एक पल्टको नेपाली सधैंको नेपाली हो । हामीले राजनीतिक अधिकार बाहेकको आर्थिक, सामाजिक अधिकारसहितको नागरिकता प्राप्त हुनपर्यो । त्यो नागरिकता इम्प्लिमेन्ट पनि हुनुपर्यो । अहिलेको नागरिकता भनेको एउटा कागजको खोस्टाको रूपमा मात्र छ । हामी नेपाल आउँदाखेरी भिसा एप्लाई गर्नुपर्छ । हामीले कुनै पनि प्रोपर्टी किन्न पाउँदैनौं । एउटा मेन अधिकार भनेको त्यो हो । त्यसपछि हामीले गाेर्खाजको अधिकार र पिएनओकोलाई पनि एउटा परिचयपत्र दिनुपर्छ भन्ने एउटा अधिकार हो । त्यति गर्न सक्यौं भने देशको समृद्धिमा विदेशमा भएका नेपालीले यहाँ लगानी गर्छन् भन्ने मलाई लाग्छ ।
अस्ट्रेलियामा रहेका नेपालीको वर्तमान अवस्था कस्तो छ ?
अस्ट्रेलियामा नेपालीको वर्तमान अवस्था हेर्दै गर्दाखेरी एक किसिमले अस्ट्रेलिया सुनौलो देश हो । त्यो ठाउँमा मानिसहरूले प्रगति पनि गर्नुभएको छ । नेपालीले उच्च ओहोदामा इन्जिनियर डाक्टरहरू अरू प्राविधिक साथीहरू पनि उ ओहोदामा बसेर काम गरिरहनुभएको छ । एउटा साधारण नेपाली पनि राम्रोसँग त्यहाँ जीवनयापन गरिरहनुभएको छ । तर, कतिपय विद्यार्थी इनफरमसन ल्याकिङ भएको कारण विद्यार्थीको सवालमा केही घटना पनि घटिरहेका छन् । नराम्रा पक्षलाई हेर्दाखेरी पारिवारिक झगडा, डिप्रेसनवाला केसहरू पनि छन् । तर, अरू विदेशीको तुलनामा थोरै छन् । समग्रमा भन्नुपर्दा नेपालीले अस्ट्रेलियामा राम्रै प्रगति गरेर बस्नुभएको छ ।
नेपाली विद्यार्थी र कामदारले भोगिरहेका मुख्य चुनौती के हुन् ?
नेपाली विद्यार्थीको चुनौती भनेको अहिलेको परिस्थितिमा काम पाउन अलि गाह्रो स्थिति छ । त्यही पनि नेपाली अलि मिहिनेती भएकोले अस्टेलियन रिप्रेजेन्टिभहरूले के भन्छन् भने नेपलिज् पिपल आर हार्ड वर्किङ पिपल भनिरहेछन् । नेपालीहरूलाई अधिकांश कामहरूमा प्रायोरिटी दिइरहेको छ । अहिले राम्रोसँग पढ्ने र २०, २५ घण्टा मात्र काम गर्ने हो भने नेपालीहरू सस्टेन हुन सक्छन् । कतिपय विद्यार्थीलाई फेमिली प्रेसर पनि छ । काम पनि गर्नपर्यो घरमा पनि पैसा पठाउनुपर्यो त्यहाँ जीवन पनि बिताउनुपर्यो भन्दै गर्दा उनीहरू धेरै काम गर्नुपर्ने स्थितिले डिप्रेसनमा जाने, मेन्टल हेल्थका इस्युहरू पनि छन् विद्यार्थीको सवालमा । कामदारको सवालमा नेपालीमा त्यस्तो कुनै समस्या छैन । व्यवसायमा पनि नेपालीले राम्रै गरिरहनुभएको छ । समग्रमा हेर्दाखेरी आ–आफ्नो प्रोफेसल जबमा पनि राम्रै गर्नुभएको छ । मध्यपूर्वमा जस्तो ठुलो समस्या चाहिँ अस्ट्रेलियामा छैन ।
अस्ट्रेलियामा सफल नेपालीको अनुभव नेपालका युवाले कसरी लिन सक्छन् ?
अस्ट्रेलियामा सफल रहेका नेपाली युवाको अनुभवलाई पोजेटिभ नोटका रूपमा सोसियल मिडियाबाट उहाँहरूको स्टोरीहरू पब्लिस् गर्न सक्यौं भने यहाँका युवाहरूलाई प्रोत्साहनको रूपमा अर्को चाहिँ एनआरएन अस्ट्रेलिया जुन एनसीसी छ, र आइसिसीले पनि त्यहाँ रहेका सफल व्यवसायी, उद्यमी, सफल प्रोफसनलहरूलाई चाहिँ ल्याएर युवाहरूको बिचमा चिनाएर कार्यक्रमहरू गर्न सक्नुपर्छ । युथ फोरमहरूले पनि युथहरूलाई मोटिभेट गर्ने कार्यक्रमहरू गर्छौ भनिरहेका छन् । एनसिसी लेबलदेखि आइसिसी लेबलमा । वमन फोरमहरूले पनि त्यस्तै कार्यक्रमहरू गरिरहेका छन् । त्यसैले विभिन्न क्षेत्रका विधामा सफल भएका व्यक्तित्वलाई हामीले ल्याएर चिनाउन सक्यौं भने, कार्यक्रम गर्न सक्यौं भने त्यसले युवाहरूलाई प्रोत्साहन दिन्छ जस्तो लाग्छ ।
दुई तिहाइ बहुमत भएको सरकारबाट के फरक नतिजा आउला भन्ने लाग्छ ?
हामी प्रवासी नेपालीले नेपालमा बन्ने जुनसुकै सरकारसँग पनि हातेमालो गर्नुपर्छ । देश समृद्धिका लागि हातेमालो नगरीकन अगाडि बढ्न सक्दैनौं भन्ने लाग्छ । अहिले विगतको सरकारको तुलनामा दुई तिहाइ सरकार बन्दै गर्दा हामीले एक्स्पेक्ट गर्छौँ भने देशमा स्थिरता हुनेछ भन्ने एक्स्पेक्ट गर्दछौं । देशमा स्थिरता हुने बित्तिकै त्यहाँ लगानी भित्र्याउन सक्ने सम्भावना पनि देखेको छौं । एनआरएनले चाहिँ देशमा स्थिरता भयो र अहिलेको सरकारले एनआरएनका एजेन्डाहरू हुबहु आफ्नो प्रतिज्ञापत्रमा राख्नुभएको छ रास्वपाले । अरू पार्टीहरूले पनि राख्नुभएको छ । उहाँहरूले चाहिँ हाम्रो एजेन्डा अलि बढी राख्नुभएकोले उहाँहरूले हामीसँग हातेमालो गरेर देशको समृद्धिमा अगाडि बढ्नुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।
राजनीतिक स्थायित्वले आर्थिक विकासमा कस्तो प्रभाव पार्छ ?
कुनै पनि देशमा राजनीतिक अस्थीरता भयो भने आर्थिक विकासमा डेफिनेट्ली इम्प्याक्ट पार्छ । अहिले हेर्नुस् इरान, अमेरिकाको युद्धले गर्दाखेरी ती देशमा मात्र होइन, अरू देशमा पनि त्यसको असर परेको छ । भने नेपाल भनेको एउटा सानो अविकसित राष्ट्र हो । यो देशमा राजनीतिक स्थीरता भएन भने आर्थिक विकासमा त ठुलो इम्प्याक्ट पर्छ भन्ने हामीलाई लागेको छ । किनभने विगतको हिस्ट्री हेर्ने हो भने लगभग ३० वर्षमा ३० वटा प्रधानमन्त्री देख्यौं त्यो भनेको एक किसिमको अस्थीरता हो । यो अस्थीरताको क्रमले गर्दा यो विकास हामीले सोचे अनुसारको हुन सकेको छैन । अब हामी चाहन्छौं देशमा राजनीतिक स्थिरता होस् । विकासमा योजनाहरू आऊन । र हामी गैरआवासीय नेपालीले हातेमालो गर्न पाउँ भन्ने हामीले आशा राखेका छौं ।
नेपालमा रोजगारी सिर्जना गर्न सबैभन्दा प्राथमिकता दिनुपर्ने क्षेत्र कुन कुन हो ?
अहिलेको विश्वलाई हेर्ने हो भने आइटी सेक्टरको नेपाल हब हुनसक्छ जस्तो लाग्छ । जस्तै विदेशमा रहेका नेपालीले पनि यहाँ आइटीको सेन्टर राखेर उहाँहरूले आउटसोर्सिङ गरेर विदेशबाट नेपालको कामहरू भइरहेको देखेको छु मैले । अहिले टेक्निकल फिल्डमा आइटीमा राम्रै काम हुन सक्छ र उद्यमी व्यवसायीहरूले आफैं लगनशील भएर काम गर्नुभयो भने त्यो क्षेत्रमा पनि काम हुन्छ । जस्तै मेले देखेको छु, यहाँबाट मध्यपूर्वतिर जानुहुन्छ थोरै स्यालरीमा जानुहुन्छ त्यहाँ गएर ४०, ४५ डिग्रीमा काम गर्नुहुन्छ । त्यही नेपाली युवा, दाजुभाइहरूले त्यति नै मिहिनेत यहाँ गर्नुभयो भने जुनसुकै क्षेत्रमा पनि उहाँहरू सफल हुनुहुन्छ भन्ने मलाई लाग्छ । भोलि आइटी सेक्टर चाहिँ एउटा भविष्यमा एउटा हब हुन सक्छ रोजगारीका लागि ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल सरकारले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
एकदम राम्रो प्रश्न उठाउनुभएको छ । विशेषगरी, मध्यपूर्व, मलेसिया र युरोपका केही राष्ट्रहरूको ठुलो समस्या छ । सामाजिक लगानी फन्ड जुन छ नि उहाँहरूको कस्तो छ भने विदेशमा काम गर्न जानेलाई उहाँहरूलाई आफ्नो अधिकार के हो ? आफूले थोरै कन्ट्रिब्युट्स गर्दा इन्स्युरेन्स हुन्छ, हुँदैन भन्ने कुरा उहाँहरूलाई थाहा छैन । अहिले भनेको हामीले उहाँहरूलाई जनचेतना दिनुपर्छ जस्तो लाग्छ । अहिले हामीले वर्कशप पनि गर्याै । त्यो वर्कशपमा यो विष्य प्राइयोरिटीमा पनि राखेका छौं । विदेशमा काम गर्न जानेहरूलाई त्यहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ कसरी काम हुन्छ भन्ने एउटा जानकारी गराउनुपर्छ । मानिसहरूले अन्धभक्त भएर काममा जानलाई नेपाल छोड्छु भन्ने स्थिति छ र त्यहाँ गएपछि दुःख पाउनुभएको स्थिति छ । अर्को उहाँहरूलाई प्रोपर ट्रेनिङ पनि दिनुपर्छ । उहाँ जुन सेक्टरमा काम गर्न जानुहुन्छ, यहाँ केही इन्सियुटहरू गभर्नमेन्टले चाहिँ नियन्त्रण गरेर एफिलेसन दिनुपर्छ जस्तो लाग्छ काममा जानका लागि । उहाँको स्किल म्याच हुने फिल्डमा जानुपर्छ जस्तो लाग्छ त्यो भयो भने के हुन्छ भने जाने बित्तिकै काम गर्न सक्नुहुन्छ । एउटा प्रोफेसनमा काम गर्न जान्छु भन्नुभएको छ, त्यो प्रोफेसनको एक्सपियरेन्स हुँदैन अनि ठुलो समस्या बनिदिन्छ । भोलि त्यहाँ उहाँहरूको अधिकार के छ ? उहाँहरूको इन्स्युरेन्स छ कि छैन पनि थाहा हुँदैन । ती सेक्टरहरूमा गभर्नमेन्टले पोलिसी बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ ।
कार्यशालामा नेपालमा कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा बहस भयो ?
अहिलेको वर्कशप भन्नाले ट्रेनिङ । अहिलेको १६ महिनाको समयमा हामीले के गर्न सक्छौं । हामीले कुन – कुन एजेण्डा लिएर हामी गयौं भने काम गर्न सक्छौं भन्ने कुरामा हामी फोकस भएका छौं । त्यसमा हामीले विभिन्न इनभेस्टमेन्ट सेक्टरमा र विभिन्न सेक्टरको योजनामा हामीले डिसकस गरेका छौं । हाम्रो निर्णय चाहिँ के भएको छ भने अफिसियल्ली वेबसाइटबाट निर्णय आएपछि मात्र डिस्क्लोज गर्ने भनेका छौँ । लगानीका सम्भावना भन्दाखेरी टुरिजम् सेक्टरहरू, अस्पिटालिटी सेक्टरहरूदेखि लिएर हाइड्रोपावर सेक्टरहरूमा प्रबल सम्भावना छन् । अहिले भएका सम्भावना पनि छन् त्यसमा अझ राम्रो गर्न सकिन्छ भन्ने लाग्छ ।
नेपालमा लगानी आकर्षित गर्न एनआरएनएले के भूमिका खेल्न सक्छ ?
एनआरएनले नेपालमा लगानी आकर्षित गर्न खेल्न सक्ने भूमिका भनेको नेपाल सरकारसँग कोअर्डिनेट गरेर यदि नेपाल सरकारले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको सामाजिक, आर्थिक अधिकार दिनलाई एनआरएनको एक्टलाई परिमार्जन गर्न सकेको खण्डमा संसारभरी रहेका नेपालीलाई हामी इन्भेस्ट गराउन सक्छौं । अहिले विदेशमा हामीले के देखिरहेका छौं भने ८, १० जना ठुला उद्यमी, ठुला व्यवसायीको मात्र लगानी भएको देखेका छौं । कलेक्टिभ इनभेस्टमेन्ट एउटा इमपोरटेन्ट पार्ट हो । अहिले एउटा नेपालीले हजार डलर इन्भेस्ट गर्न नेपाली खोज्यौं भने एक लाखभन्दा बढी नेपाली भेटाउन सक्छौं । त्यसरी सबै नेपालीहरूलाई अपनत्व गराउँदै नेपाल आफ्नो देश हो । यहाँ लगानी गर्दै गर्दा आउटकम आउने सम्भावना पनि छन् । र च्यालेन्जेज् कहाँ छन् भने हामी एनआरएन अभियानमा लागेका त लगानी गर्न इच्छुक छौं । अरू नेपाली जो हुनुहुन्छ, म उदाहरण दिन्छु, विदेशमा शेयर किनेर बस्नुहुन्छ । शेयरको ट्रेनिङ गर्नुहुन्छ । शेयरको ट्रेनिङ गर्दा के हुन्छ भने त्यहाँ आएको भाडा प्रोफिट भनेको उहाँको इन्कममा काउन्ट हुन्छ । इनकममा काउन्ट हुँदा ३५ देखि ४० प्रतिशत उहाँहरूले ट्याक्स तिर्नुपर्छ यदि प्रोफिट भएको खण्डमा । तर, शेयर लस पनि हुन सक्छ, ठुलो रिक्स छ । नेपालमा लगानी चाहिँ लस हुने सम्भावना हामीले कम देखेका छौं विभिन्न सेक्टरहरूमा । यदि नेपाल सरकारले लगानी गर्नलाई प्रोत्साहन गर्ने हो र प्रोत्साहन गरिसकेपछिको त्यो लगानी डिप्राटेसन गर्ने पोलिसी बनाउने हो भने हामीले एनआरएनले ठुलो भूमिका खेलेर नेपालीको लगानी यहाँ भित्र्याउन सक्छौं ।
युवाहरूलाई नेपालमै अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रले के के भूमिका खेल्नुपर्छ ?
युवालाई नेपालमै रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हुन्छ । निजी क्षेत्रले त आफ्ना योजना इम्प्लिमेन्ट गर्नैपर्यो । यदि प्रोजेक्टहरू भएन भने युवाले लगानी सक्दैन । सरकारले प्रोजेक्ट इमप्लिमेन्ट गर्नुपर्छ पहिलो कुरो । विभिन्न इन्फ्रास्टक्चर प्रोजेक्टहरु इमप्लिमेन्ट गर्नुपर्छ । त्यसले गर्दा युवाहरू आकर्षण हुन्छन् काममा । कुनै पनि देशमा विकास हुनका लागि इन्फ्रास्टक्चरहरू चाहिन्छ । इनफास्टक्टर डेभलपमेन्ट गरियो भने मात्र रोजगारी हुन्छ । अहिले के भइरहेको छ भने यहाँ इन्फ्रास्टक्चर कम र नेपाली युवाहरू विदेश जाने । यहाँ केही पनि गर्न सकिन्नँ भन्ने एउटा भाष्य भएको कारण पलायन भएका युवा रोक्न सकिरहेका छैनौं । यसको लागि युवामैत्री कार्यक्रमहरू पनि ल्याउनुपर्छ जस्तो लाग्छ । एउटा चाहिँ के गर्न सकिन्छ भन्ने जस्तो लाग्छ भने गभर्नमेन्ट सेक्टरमा के गर्न सकिन्छ भने विदेशमा एउटा ग्राजुएट भएका नेपाली विद्यार्थीले तीन वर्षभित्र ग्राजुएट पोजिसन एप्लाई गर्न पाउँछ । तपाई, प्राइभेट सेक्टर, गभर्नमेन्ट सेक्टर हेर्नुस्, एउटा पोलिसी बनाएर । ल, ब्याचलरमा सकिँदैन रे, मास्टर डिग्रीमा फस्र्ट डिभिजन भएका मान्छेहरुलाई सेकेन्ड डिभिजन भएकालाई छोडौं । फस्ट डिभिजन भएका मान्छेलाई एक वर्ष उनीहरूले रोजगारी दिने । जसरी ग्राजुएट पोजिसन छ, त्यसैगरी रोजगारी दियौं भने मास्टर गरेको मान्छे एक वर्ष यहाँ काम गरिसकेपछि म यही काम गर्छु भन्ने उहाँहरूमा प्रोत्साहन आउँछ । विदेशमा भएको जस्तो ती पोजिसन दिने । खडा गर्ने टेम्पोररी पोजिसनहरू खडा गर्ने । जुन पोजिसन चाहिँ राजनीतिक नियुक्ति नहोस् । मेरिटोक्रेसीका आधारमा उहाँहरुले काम पाउनुहोस् । त्यस्तो स्थिति सिर्जना गर्यौं भने धेरै युवा विदेश पलायन हुनुहुन्न भन्ने जस्तो लाग्छ ।
‘ब्रेन ड्रेन’ रोक्न दीर्घकालीन समाधान के हुन सक्छ ?
‘ब्रेन ड्रेन’ यो सम्पुर्ण युवा विदेश जानेले गर्दा भइरहेको छ र हाम्रो पनि कन्सेप्ट के छ भने ‘ब्रेन ड्रेन’ लाई कसरी रोक्ने ? ‘ब्रेन ड्रेन’ भर्सेस ब्रेन गेन भन्छौं । हामीले विदेशमा रहेका आज पनि हामीले डिसकसनको विषय बनाएका थियौं, विदेशमा रहेका नेपाली जो चाहिँ विभिन्न सेक्टरमा युनिभर्सिटीमा प्रोफेसर हुनुहुन्छ, आ–आफ्नो सेक्टरमा काम गरिरहनुभएको छ, उहाँहरूलाई हामीले मोटिभेट गर्न सकिँरहेका छैनौं । उहाँहरू के भन्नुहुन्छ भने तपाइको एनआरएनभित्र खिचातानी छ । नेपाल सरकारमा खिचातानी छ भन्नुहुन्छ । नेपाल सरकारमा काम गर्न जाउ कुनै चीजहरू, फायलहरू त्यतिकै थन्केर बस्छन् । समस्याहरू त छन् । त्यसकारणले गर्दा हाम्रो चाहना के छ भने विदेशमा रहेका एक्स्पर्टहरुलाई एकस्पर्टहरूको डाटा बेस चाहिँ ब्रेन गेन सेन्टर थ्रो नेपाल सरकारले चाहिँ इनिसियसन लियो भने हामीले हातेमालो गर्दै संसारभर रहेका एक्स्पर्टहरूको पहिला सुरु टाडाबेस कलेक्सन गर्नुपर्छ । ती एक्स्पर्टहरू पनि अहिले कस्तो भइसके भने फस्र्ट जेनेरेसन करिब रिटायर्डमेन्टमा गइसक्नुभयो । नाति पुस्ता जन्मेपछि उहाँहरू लगभग रिटायर्टमेन्टमा गइसक्नुभयो । त्यो सेमिरिटायर्टमेन्ट हुनुभएका एक्सपर्टहरूलाई हामीले पहिचान गर्दै नेपाल सरकारसँग पोलिसी मेकिङमा र यहाँको डभलप्मेन्टमा इनभल्भ गराउन पायौं भने हामीले कन्लसटेन्टलाई त पेड गरिरहेका छौं नि, त्यो भन्दा थोरै पे गरेर उहाँहरूको नलेजहरूलाई देशमा भित्र्याउन सक्छौं भन्ने लागेको छ ।
एउटा चाहिँ हाम्रो स्किल, नलेज, टेक्नोलोजी, ट्रान्सफर डिपार्टमेन्ट अन्तर्गत हामी त्यसको लागि अगाडि बढिरहेका छौं । त्यसको लागि एक्सपर्टहरूलाई नेपाल सरकारसँग कनेक्सन गराउने प्रयास गर्छौं ।
विदेशमा बसेर नेपाललाई योगदान दिने सबैभन्दा प्रभावकारी माध्यम के हो भन्ने लाग्छ ?
विदेशमा बसेर नेपालाई योगदान दिने सबैभन्दा प्रभावकारी माध्यम एउटा त एक्सपर्टहरूलाई, डायसपोरालाई कनेक्सन गराउने । डायसपोराको भिऊ नेपाल सरकाररमा हामीले पोलिसी मेकिङमा इम्प्लिमेन्ट गर्ने । र लगानी नै भित्र्याउने । नेपालमा लगानी भित्र्यायौं भने मात्र हामीले देश समृद्धि गर्न सक्छौं । र विदेशमा भएका सम्पुर्ण नेपालीलाई कलेक्टिभ इनभेस्टमेन्टको धारणा ल्याएर उहाँहरूलाई नेपालको समृद्धिमा सहभागी गराउने नै हो त्यसमा ।
तपाईंले नेपालका युवालाई दिने मुख्य सन्देश के हो ?
नेपालका युवालाई दिने मुख्य सन्देश भनेको विदेश पढुन नजानु भन्दिनँ । पढ्न जाने हो भने राम्रोे विषय पढ्न जाने । राम्रो विषय पढ्दै जाँदाखेरी आफ्नो एक्सपर्टिज भोलि नेपालको विकासमा विदेशमै बसेर पनि ब्रेन गेन सेन्टर बनाउन एउटा सदुपयोग गर्ने । र यहाँ भएका एक्स्पर्टले यही बसेर पनि देशका लागि केही गर्न सकिन्छ भने यही बसेर पनि योगदान दिनुस् भन्छु र मध्यपूर्वतिर जाने हाम्रा नेपाली युवालाई के भन्छु भने तपाईंहरूले गर्ने मिहिनेत र श्रमले त्यतिको समय यही दिनुहुन्छ र लाज नमानीकन हामी काम गर्छौं भने यही देशमा त्यो भन्दा पनि बढी कमाउनुहुन्छ भन्ने सन्देश दिन चाहन्छु ।
अहिले नेपाल सरकार पनि स्थिर बन्दैछ । एनआरएनमा भएका हिजोका विवाद पनि टुङ्गिएका छन् । हामी सबैले हातेमालो गरेर देशमा समृद्धिको लागि लाग्नुपर्ने छ । यसको लागि नेपाल सरकारले अहिले तत्कालै एनआरएन एक्टमा परिमार्जन गर्न ठोस पहल गर्दिए हामीले विदेशमा रहेका नेपालीलाई देशको समृद्धिमा योगदान गर्न हामी पहल गर्ने छौं ।