• ७ चैत २०८२, शनिबार

हेटौँडाका मुस्लिम समुदायले मनाए इद पर्व

blog

हेटौँडाको जामे मस्जिदमा इद पर्व मनाइँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ७ गते । इस्लाम धर्मावलम्बीले शनिबार हेटौँडामा इद–उल–फित्र (इद) पर्व मनाएका छन् । हेटौँडास्थित जामे मस्जिदमा बिहान इदको नमाज पढेपछि एक अर्कामा शुभकामना आदान–प्रदान गर्दै मुसलमानहरूले खुसियाली साटासाट गरेर यो पर्व मनाएका हुन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । 

एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलनका साथैं भाइचारा साट्ने दिन भएको जामे मस्जिदका मौलाना जहिर मियाँ अन्सारी बताउनुभयो । मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएको खुला ठाउँ) मा भेला भएर इदको नमाज पढ्ने चलन रहेको उहाँको भनाइ छ । इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिएको छ । 

बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबइ, फलफूल वा अन्य मिठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी इदको खुसियाली साटासाट गर्दै मनाउने गरिन्छ । 

प्रत्येक वर्ष मुस्लिम समुदायले आफूले कमाएको सम्पत्तिको अढाई प्रतिशत गरिबलाई दान गर्नुपर्ने धार्मिक प्रचलन रहँदै आएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेश अध्यक्ष महमद समिम (समिम खान) ले जानकारी दिनुभयो । 

हेटौँडा–४ मा २०१६ सालमा जामे मस्जिद स्थापना भएको थियो । हेटौँडा–११, थानाभर्‍याङमा अवुवकर मस्जिद र हेटौँडा–४, कमलडाँडामा विलाल मस्जिद रहेको छ । हेटौँडा–१, जरुवाटोलमा मदरासा दारुल कुरानमा हाल ४० जना गरिब तथा अनाथ बालकले शिक्षा लिइरहनुभएको छ । मकवानपुर, बारा, पर्सा, रौतहटलगायतका क्षेत्रका मुस्लिम समुदायले यहाँ शिक्षा लिइरहनुभएको हो । हाल मकवानपुरमा करिब पाँच हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको खानले दाबी गर्नुभयो ।