गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले तयार गरेको बालबालिका सम्बन्धी निर्वाचन आचारसहिंता उल्लङघनको संक्षिप्त अनुगमन प्रतिवेदनमा देश भर दुई सय ८६ जना बालबालिका प्रयोग भएको पाईएको हो ।
बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष तिलोत्तम पौडेलले सो प्रतिवेदनबारे जानकारी दिँदै यस निर्वाचनमा ५५ वटा घटना बालबालिकाले पार्टीको झण्डा बोक्ने, र चुनाव चिन्ह बोकेर प्रचारमा हिँडेको, ४८ वटा घटनामा बालबालिका र्याली र भेलामा सहभागी भएको पाईएको बताउनुभयो ।
त्यसैगरी ३९ वटा घटना नारा लाउँदै गरेका, ३२ वटा घटनामा पार्टीको प्रचारात्मक भिडियोमा अभिनय गरिरहेको पाईएको लगायत देशभर दुई सय ८६ घटनामा बालबालिका प्रयोग भएको पाईएको बताउनुभयो । उहाँले निर्वाचनमा झडप हुने, हुलदङ्गा हुनेलगायतका विभिन्न्न घटनामा बालबालिकाको ज्यान जोखिममा पर्ने, पढ्ने खेल्ने, सुरक्षित वातावरणमा रमाउने उमेरका बालबालिकालाई पार्टीले निर्वाचन प्रचार,भेला, विजय जुलुसमा सहभागी गराउनु भनेको बालअधिकार हनन हुने क्रियाकलाप हुन् भन्दै यसको विरोध गर्दै आगामी निर्वाचनमा यस्ता गतिविधी पुरै वन्द हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले आगामी दिनमा विद्यालयलाई निर्वाचन केन्द्र बनाउने सन्दर्भमा विकल्प खोज्नुपर्ने बताउनुभएको थियो । उहाँले विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् । बालबालिकालाई बालमैत्री शासन प्रवद्र्धन गर्न बालअधिकारको संरक्षण गर्न बालविवाह अन्त्य गर्न बाल बजेट लागु गर्न बाल संरक्षण प्रणालीलाई कार्यान्वयन गर्न नवनिर्वाचित संसदले आवश्यक पहलकदमी गर्नुपर्ने बताएका थिए ।
प्रतिवेदन अनुसार उक्त घटना प्रदेशगत अध्ययन गर्दा कोशी प्रदेशमा ६५ वटा, बागमती प्रदेशमा ५७ वटा, मधेश प्रदेशमा ४४ वटा,लुम्बिनीमा २५ वटा, सामाजिक सञ्जाललगायतमा ६६ वटा, कर्णाली प्रदेशमा १० वटा र सुदुरपश्चिम प्रदेशमा ८ वटा घटनामा बालअधिकार सम्बन्धी निर्वाचन आचार संहिता उल्लङ्घनका घटना भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गा प्रसाद चालिसेले बालअधिकार संरक्षणको दृष्टिले निर्वाचन जस्तो जोखिमको सम्भावनायुक्त क्रियाकलापमा बालबालिकाको दुरुपयोग हुन नदिन सधैँ चनाखो हुँदै त्यस्ता क्रियाकलापको विरोध निरन्तर गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका निर्देशक शिरोमणी दुढङ्गानाले सङ्घमा तीन सय ८० वटा रेडियो, एफएम आवद्ध रहेको र हरेक दिन २८ लाख भन्दा बढि स्रोता समक्ष समाचार पुर्याईरहेको जानकारी दिनुभयो ।
उहाँले बालअधिकार सम्बन्धी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्धको अभियानमा सङ्घले सहकार्य गर्ने अवसरले बालअधिकार संरक्षणमा सामुदायिक रेडियो प्रसारक सङ्घले सहयोग पुर्याउन पाएको बताउनुभयो ।
सो प्रतिवेदन तयार गर्न बालबालिका शान्ति क्षेत्र अभियानका ५० जिल्लाका १०७ सदस्य संस्था,सातवटै प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, कन्सोर्टियम, इन्सेक, सेभ द चिल्ड्रेन र बालबालिका सम्बन्धी सङ्घ संस्थाको सहकार्य रहेको अभियानले जनाएको छ ।
अभियानले राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन आयोग, नागरिक समाज तथा निर्वाचन पर्यवेक्षक, परिवार र समुदायलाई समेत बालबालिकाको सुरक्षा र बालअधिकार संरक्षणको सन्दर्भमा सिफारिस गरेको छ ।