प्रवीण कुमार शर्मा
रौतहट, चैत ६ गते । वन क्षेत्रसँग सम्बन्धित चुनौतीहरू न्यूनीकरण गर्न डिभिजन वन कार्यालय रौतहट तिव्र रुपमा आफ्ना गतिविधि बढाएको छ ।
सोहि अन्तर्गत शुक्रवार चन्द्रनिगाहपुरमा जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक आयोजना गरिएको डिभिजन बन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले जानकारी दिनुभयो ।
समितिको बैठकमा वन पैदावारको अवैध चोरी निकासी, वन अतिक्रमण, वन डढेलो, नदिजन्य पदार्थको अवैध उत्खनन तथा मानव–वन्यजन्तु द्वन्द्व जस्ता प्रमुख समस्याहरूको बारेमा छलफल भएको उहाँले बताउनुभयो । अवैध कटानी तथा चोरी निकासी नियन्त्रण गर्न कडाइका साथ लाग्ने तथा कानुनी कारबाही समेतअघि बढाउने, वन अतिक्रमण रोक्न हर सम्भव प्रयास गर्ने तथा अतिक्रमित बन क्षेत्र फिर्ता ल्याउने निर्णय समितिको बैठकमा भएको डिभिजनल बन अधिकृत साहले बताउनुभयो ।
त्यसैगरी वन डढेलो नियन्त्रणका लागि समन्वयात्मक पहल गर्ने र काठ दाउराको व्यवस्थापन तथा क्षति मूल्याङ्कनलाई व्यवस्थित गर्ने, नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गरी दिगो उपयोग सुनिश्चित गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि समन्वय र क्षतिपूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिने निर्णय भएको उहाँले बताउनुभयो ।
वन क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या राय यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल वन पैदावार व्यवसायी संघका उपाध्यक्ष श्रीराम रायमाझी, सशस्त्र प्रहरी बल नेपाल ११ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक कुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लावुङ, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वनाथ जी.सी., नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्की, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष वेदहरी दाहाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।