धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ६ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट अङ्गभङ्ग मुद्धामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ की ३५ वर्षीया द्रोपतीदेवी मण्डल पक्राउ गरेको छ । उहाँलाई सक्षम मण्डलको दाहिने आँखामा हँसियाले प्रहार गरी अंगभंग बनाएको आरोपमा पक्राउ गरिएको हो । उक्त मुद्दामा उनीमाथि तीन दिनको म्याद थप गरिएको छ ।
यस्तै, राजगढ गाउँपालिका–१ का २० वर्षीय ओमप्रकाश यादवले एक थान निकोन क्यामेरा चोरी गरेको आरोपमा पक्राउ परेका छन् । यस मुद्दामा पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज–१३ का ३५ वर्षीय कृष्णदेव यादवलाई पक्राउ गरिएको बताउनुभयो । उहाँमाथि पनि पाँच दिनको म्याद थप गरिएको जनाउनुभयो ।
त्यसैगरी, तिरहुत गाउँपालिका–१ का धर्मेन्द्र खंग गालीगलौज तथा अभद्र व्यवहार गरेको मुद्दामा पक्राउ परेका छन् । अनितादेवी खंगलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका धर्मेन्द्रमाथि पाँच दिनको म्याद थप गरिएको जनाएको छ ।
पक्राउ परेका चारै जनाको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।