अमरराज नहर्की
दमौली, चैत ७ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा स्थानीय पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर एकीकृत अभियान सुरु गरिएको छ ।
नगरपालिका र स्थानीय उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यहाँका ओझेलमा परेका धार्मिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय स्तरमा चिनाउन विविध गतिविधि अघि बढाइएको हो ।
विशेषगरी दगाम भुजीकोटको दृश्यावलोकन, प्रसिद्ध मिलेनियम ट्रेक (पदयात्रा), रकगार्डेन र ऐतिहासिक गुफाहरूको प्रचार–प्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने रणनीति लिइएको छ ।
स्थानीय उत्पादन, सीप र मौलिक स्वादलाई बजारसँग जोड्दै आर्थिक समृद्धिको खोजी गर्ने यस अभियानले परम्परागत कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।
पर्यटन प्रवर्धनकै कडीका रूपमा हालै शुक्लागण्डकीमा ‘आदिवासी जनजाति रैथाने खाना महोत्सव’ सम्पन्न भएको छ । उक्त अवसरमा बटुक, बारा, सेलरोटी, चटामरी, गिठ्ठा, भ्याकुरजस्ता लोपोन्मुख परिकारको प्रदर्शन गर्दै मौलिक खानपानलाई आय–आर्जनको आधार बनाउने प्रयास गरिएको थियो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितका अनुसार रैथाने खानपान सभ्यता र पहिचानका आधार भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन वृद्धि गर्न नगरपालिका प्रतिबद्ध छ ।
त्यसैगरी, आधुनिक कङ्क्रिटका संरचनाले मौलिकता हराउँदै गइरहेका बेला स्थानीय सात जातिका प्राचीन वास्तुकला झल्कने घरहरू निर्माण गरिएको छ । गुरुङ, कुमाल, मगर, भुजेल, तामाङ, नेवार र राई समुदायका परम्परागत घरभित्र ती समुदायको भेषभूषा र जीवनशैली प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
महोत्सव सुरु
यसैबिच सांस्कृतिक र पर्यटकीय महाअभियानको सिलसिलामा शुक्रबारदेखि शुक्लागण्डकी नगरपालिका –५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा ‘पाँचौँ शुक्लागण्डकी महोत्सव सुरु भएको छ । शुक्ला गण्डकी नगर उद्योग वाणिज्य सङ्घको आयोजना गरिएको हो ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इञ्जिनियर श्रीराम न्यौपाने र १०७ वर्षीय गणेशबहादुर राउतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नव निर्वाचित सांसद न्यौपानेले महोत्सवले सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै यस क्षेत्रको पूर्वाधार विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
विशिष्ट अतिथि गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महतले कृषिउपज र पर्यटनलाई जोडेर स्थानीयको जीवनस्तर सुधार्नु पर्नेमा जोड दिनुभयो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार चैत १७ गतेसम्म चल्ने महोत्सवमा १७५ वटा स्टलहरू रहेका छन् ।
यस महोत्सवमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवको आकर्षणका रूपमा पर्यटकीय स्थलबारेको सूचना केन्द्र, स्वास्थ्य शिविर, कृषि प्रदर्शनीका साथै युवापुस्तालाई जोड्न टिकटक र रिल्स प्रतियोगिता समेत राखिएको छ ।
उद्घाटन पूर्व निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातजातिले कौराहा, रत्यौली र झाँकी प्रदर्शन गर्दै स्थानीय संस्कृतिको जीवन्त तस्बिर प्रस्तुत गरेका थिए ।