फडिन्द्र अधिकारी
लेखनाथ, चैत ७ गते । पोखरामा शनिबार सातौँ एसिया कप ट्रायथलन र साउथ एसियन च्याम्पियनसिप भएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि यस्ता साहसिक खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
एसिया कपमा जापानी खेलाडीले वर्चश्व कायम गरेका छन् । महिला र पुरुष दुवै विधामा प्रभावशाली प्रदर्शन गर्दै उनीहरुले उपाधि जितेका हुन् । नेपाल ट्रायथलन सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ जापानका हुकुतो ओवारा पहिलो बन्नुभयो ।
उहाँले सात सय ५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड ५४ मिनेट ३० सेकेन्डमा पूरा गर्नुभयो । जापानकै मित्सुहो मुचीजुकी ५५ मिनेट पाँच सेकेन्डमा टास्क पूरा गर्दै दोस्रो हुँदा उज्बेकिस्तानका आलेक्सेन्डर कुरीशोभ ५५ मिनेट पाँच सेकेन्डमा तीनै इभेन्ट पूरा गरी तेस्रो हुनुभयो ।
महिलातर्फ जापानकी सारिका नाकाया (एक घन्टा १६ सेकेन्ड) च्याम्पियन बन्दा उज्बेकिस्तानकी अलिना खाकिमोभा (एक घन्टा एक मिनेट ७ सेकेन्ड) दोस्रो, जापानकी मिनोरी इकोना (एक घन्टा एक मिनेट २५ सेकेन्ड) तेस्रो, जापानकै युकी सुगिहारा (एक घन्टा दुई मिनेट आठ सेकेन्ड) चौथो र इस्टोनियाकी ग्रेटे मारिया (एक घन्टा तीन मिनेत २२ सेकेन्ड) पाँचौ बन्नुभयो ।
प्रतियोगितामा नेपाल, भारत, जापान, उज्वेकिस्तान, स्लोभाकिया, दक्षिण कोरिया, सिङ्गापुर, ओमान र इस्टोनियाका गरी ४२ खेलाडी सहभागी थिए । प्रतियोगितामा पुरुष र महिला दुवै विधाका शीर्ष पाँच खेलाडीले क्रमश: छ सय ३०, पाँच सय २५, चार सय २९, तीन सय १५ र दुई सय १० अमेरिकी डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, १४औँ साउथ एसियान च्याम्पियनसिपतर्फ भारतीय खेलाडीको दबदबा रह्यो । पुरुषतर्फ भारतका याजात कन्दन्दा (५८ मिनेट ३८ सेकेन्ड) च्याम्पियन हुँदा भारतकै खुन्द्राकपाम मेतेई (५८ मिनेट ५६ सेकेन्ड) दोस्रो बन्नुभयो ।
नेपालका मौलिक महर्जन (एक घन्टा १५ मिनेट) तेस्रो ठहरिनुभयो । महिलातर्फ भारतकी डोली देवीदास पाटिल (एक घन्टा नौ मिनेट पाँच सेकेन्ड ) पहिलो, भारतकै मान्सी मोहती ( एक घन्टा ११ मिनेट ३७ सेकेन्ड) दोस्रो र नेपालकी युस्का महर्जन (एक घन्टा २६ मिनेट ४७ सेकेन्ड) तेस्रो बन्नुभयो ।
नेपाल ट्रयाथलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।