रामकृष्ण बोहरा
बागलुङ, चैत ७ गते । दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जनाको उपचार चलिरहेको छ । बुर्तिवाङ अस्पतालबाट धौलागिरि प्रादेशिक अस्पताल र पोखरामा रिफर गरिएका पाँच बिरामीमध्ये चार जना सफल उपचारपछि घर फर्किएका छन् ।
‘‘सामान्य लक्षणदेखि जटिल समस्याहरू देखिएका बिरामीहरू सफल उपचारपछि घर फर्किएका छन्’’ घिमिरेले भन्नुभयो । केही बिरामीहरूमा पखाला लाग्ने, निमोनिया, पेट दुखाइ तथा नाकबाट रगत बग्नेजस्ता जटिलता देखिए पनि सतर्कता अपनाउँदै समयमै उपचारको व्यवस्था गर्दा बिरामीले ज्यान गुमाउन नपरेको घिमिरले बताउनुभयो ।
विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा ७ बोबाङ, वडा ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार थालिएको थियो ।
विशेषगरी अत्यधिक ज्वरो, शरीरमा बिबिरा आउनेजस्तो समस्या बालबालिकामा भए पनि अभिभावकमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठनको टोली ढोरपाटनका गाउँ–गाउँमा पुगेर बालबालिका र अभिभावकहरूको उपचारमा साथ दिएको थियो ।
झण्डै तीन सातासम्म दादुराको सङ्क्रमण फैलिँदा ढोरपाटनका १ सय ४१ जना ६ महिने शिशुदेखि ४८ वर्ष उमेर समूहमा दादुरा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीलाई दादुराविरुद्वको खोप लगाइएको घिमिरेले जानकारी दिनुभयो ।
विशेष स्वास्थ्य सतर्कता अपनाएर दादुरा प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन सुरु भएको छ । विद्यालयमा आउने बालबालिकालाई मास्क लगाउने, सरसफाइमा ध्यान दिने, बिरामीको उपचार र दादुराविरुद्वको खोप लगाएपछि पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिनुभयो ।
अहिले विश्व स्वास्थ्य सङ्गठनको टोलीले समुदायमा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जनप्रतिनिधिहरूको बैठकले प्रकोप व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, शङ्कास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय गरेको छ ।