नारद कोहार
तौलिहवा (कपिलबस्तु), चैत्र ७ गते । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राचीन तिलौराकोट क्षेत्रको भ्रमण तथा अवलोकन गर्नुभएको छ । भगवान् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटको भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
तिलौराकोट पुगेका राजदूतलाई लुम्बिनी विकास कोषका तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्य र लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक कुमार खडकाले यस क्षेत्रको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्त्वबारे जानकारी गराउनुभएको थियो ।
अवलोकनको क्रममा राजदूतले तिलौराकोट दरबार क्षेत्र, त्यहाँ रहेका पुरातात्विक अवशेष तथा संरक्षणका प्रयासबारे चासो व्यक्त गर्नुभएको थियो । उहाँले तिलौराकोट बुद्धकालीन सभ्यता, इतिहास र पर्यटनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्धन र अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
साथै उहाँले यसको संरक्षण र विकासका लागि चिनियाँ सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यालय प्रमुख आचार्यले तिलौराकोटलाई विश्व समुदायमाझ बुद्धसँग जोडिएको महत्त्वपूर्ण ऐतिहासिक स्थलका रूपमा स्थापित गर्न निरन्तर पहल भइरहेको जानकारी दिनुभयो । उहाँले यहाँका संरचना, उत्खननबाट प्राप्त प्रमाण र ऐतिहासिक महत्त्वबारे राजदूतलाई अवगत गराउनुभएको थियो ।