• ८ चैत २०८२, आइतबार

नगरपालिकाले चासो नलिदा शुरु हुन् सकेन चन्द्रपुर बसपार्क

blog

सञ्चालनको पर्खाइमा रहेको चन्द्रपुर बस पार्क । तस्बिर :प्रवीण कुमार शर्मा ।

प्रवीण कुमार शर्मा 

रौतहट, चैत ८ गते ।रौतहटको चन्द्रपुर नगरपालिकाले यहाँ निर्मित बसपार्क सञ्चालन गर्न अग्रसरता नदेखाए पछि बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

बसपार्क उद्‌घाटन भएको १ वर्ष बिती सक्दा पनि नगरपालिकाको उदासिनताका कारण सञ्चालनमा आउन नसकेको स्थानीयको गुनासो छ ।

सघन शहरी तथा भवन निमार्ण आयोजना पर्सा, बिरगञ्जले सुविधा सम्पन्न बसपार्क निर्माणको काम सकेर गएको २०८१ फागुन १५ गते चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि हाल सम्म बस पार्क सञ्चालनमा नआउँदा सडकमै बस, इरिक्शा पार्किङ हुने गरेको छ । 

पूर्वपश्चिम महेन्द्र राजमार्ग स्थित चन्द्रनिगाहपुर चोक र गौर चन्द्रनिगाहपुर सडकको दुबै तिर बस, ट्रक, इरिक्शा, जिपहरू सडकमै पार्किङ हुने गरेको कारण दुर्घट्नाको जोखिम बढेको छ । 

बसपार्क निर्माण भए पनि बस व्यवसायीले सुरक्षा लगायत विभिन्न कारण देखाउँदै बसलाई बसपार्कमा राख्न नमानेका कारण बसपार्क सञ्चालनमा आउन नसकेको नगरपालिकाको भनाइ रहेता पनि प्रहरीले सुरक्षाको जोखिम नरहेको बताउँदै आएको छ ।

तर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुंगले बसपार्कको सुरक्षाको लागि प्रहरी २४ घण्टा तयार रहेको बताउनु हुँदै सुरक्षाको चुनौती नरहेको दावी गर्नुभयो ।

चार्जिङ स्टेसन सहितको सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि सञ्चालन नहुँदा बजार क्षेत्र अस्तव्यस्त भएको र सवारी दुर्घट्नाको जोखिम बढेको उहाँले बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गको मुख्य चोक र गौर खण्डको सडकमै यातायात व्यवसायीले सार्वजनिक सवारी साधन राखेर सडक अस्तव्यस्त पारेपछि पछिल्लो समय चन्द्रपुर नगरपालिकाले बसपार्क सञ्चालन गर्न कार्यदल समेत गठन गरेको थियो । नगरपालिका र बस व्यवसायी बीच कुरा नमिलेर बसपार्क सञ्चालन हुन नसकेको बाहिरि हल्ला गरिए पनि त्यसो नरहेको बस व्यवसायी बताउँछन । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद श्रीवास्तवका अनुसार बस पार्क सञ्चालनका लागि नगरपालिका अग्रसर रहेको र हालै बसपार्कमा विद्युत जडानको काम सकेको बताउनुभयो ।

 बसपार्कमा आवश्यक ट्रान्सफर्मर जडानको लागि मधेश प्रदेश सरकारलाई आग्रह गरिएको बताउनु हुँदै चाँडै सञ्चालनमा आउने उहाँले बताउनुभयो । 

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले बैशाख अघि बसपार्क सञ्चालनमा आइ सक्ने भन्नुभयो ।बसपार्क सञ्चालनमा आएपछि राजमार्गमा अव्यवस्थित बस पार्किङको समस्या हट्ने उहाँको भनाइ छ ।